३० असार २०८३, मंगलवार

पशुपतिनाथ क्षेत्रमा सतबिउ छर्नेको घुइँचो

कोलोराडोखबर संवाददाता , November 30th, 2024

नेपाल । शनिबार बाला चतुर्दशी । पशुपतिनाथ क्षेत्रमा शनिबार बिहानैदेखि शतबीज (सतबिउ) छर्नेको घुइँचो लागेको छ ।

यसअघि शुक्रबार राति श्रद्धालु पितृका दीप तथा महादीप बालेर जाग्राम बसेका थिए । अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बाह्ममूहुर्त्तमै बागमतीमा बत्ती बगाएर स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने परम्परा छ ।

शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल हुन्छन् । १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त भइने विश्वास छ।

प्रतिक्रिया दिनुहोस्