४ श्रावण २०८३, सोमबार

शनिबार र आइतबार काठमाडौंमा एनआरएनएको वार्षिक साधारणसभा तथा ग्लोबल कन्क्लेव हुँदै

कोलोराडोखबर संवाददाता , October 24th, 2024

अमेरिका । ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) द्वारा आयोजित एनआरएनए दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

आगामी शनिबार र आइतबार (अक्टोबर २७–२८, २०२४) मा काठमाडौंमा आयोजना हुने वार्षिक साधारणसभा तथा ग्लोबल कन्क्लेवमा सहभागी हुन एनआरएनएका केन्द्रीय पदाधिकारीहरू र प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखकसहित अर्थमन्त्री विष्णु पौडेलसहित सरकारका मन्त्रीहरूको उपस्थिति रहने एनआरएनए संघले जनाएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालको आर्थिक रूपान्तरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । एनआरएन नागरिकता, मताधिकार, गोर्खा मुद्दा, जलवायु परिवर्तनका प्रभावहरू, नेपालमा गैरआवासीय नेपालीहरूको १० अर्ब लगानी, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, र नेपालको पर्यटन प्रवर्द्धनजस्ता विषयमा विशेष सत्रहरू आयोजना गरिने छन् ।

यसका साथै, महिला र बालबालिकाका दृष्टिकोणलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक पक्षबारे गम्भीर छलफल हुनेछ । नवप्रवर्तन, प्रविधि स्थानान्तरण, र अनुसन्धानको महत्वका विषयमा नेपालको दीर्घकालीन समृद्धिका लागि आवश्यक पहलबारे पनि ग्लोबल कन्क्लेवमा छलफल गरिनेछ । संघले सो कार्यक्रम सम्पन्न गर्नको लागि उपाध्यक्ष डा. हेम राज शर्माको संयोजत्वमा एक उच्चस्तरिय समिति गठन गरेको थियो ।

कार्यक्रममा एनआरएन विकास कोष (१० अर्ब लगानी) को शुभारम्भ गरिनेछ, जसले गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने दीर्घकालीन परियोजनाहरूलाई समर्थन गर्नेछ ।

वार्षिक साधारणसभामा संघका महासचिव गौरीराज जोशीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुदन थापाले आर्थिक प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ- संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन एनआरएनएका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेमराज शर्मा र रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, सचिव टीका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना, सल्लाहकारद्वय चिरञ्जीबी ढकाल, अतुल कोइराला, क्षेत्रीय उप-संयोजक पूर्णचन्द्र बानियाँ, महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, यूरोप महिला संयोजक प्रसुन्ना कँडेल, एनसीसी कोम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनसीसी अष्ट्रेलियाकी सह-कोषाध्यक्ष रोजी पन्त लगायतका पदाधिकारीहरू काठमाडौंमा भेला भएका छन्।

संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने र भवन भट्ट, पूर्व कोषाध्यक्ष महेश श्रेष्ठ समेत अन्य वरिष्ठ नेतृत्व काठमाडौंमा उपस्थित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्