नेपाल । देशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व बुधबार धुमधामका साथ मनाइदै छ ।
तीन दिनमध्ये बुधबार मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ । जितियाको मुख्य दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् ।
बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।
नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।
जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाइने पर्व हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्