नेपाल । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र, विधिको शासन, सुशासन र जनजीविकाका सवालमा सरकारलाई खबरदारी गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाए ।
उनले प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझेर कांग्रेसले सरकारलाई काम गर्ने अवसर दिएको भए पनि पछिल्ला गतिविधिले सरकारको सोच, चरित्र र प्रवृत्तिमाथि नै प्रश्न उठेको बताए ।
कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउँदै संविधान र लोकतन्त्रविपरीतका गतिविधि, विधिको शासनमाथिको हस्तक्षेप तथा जनहितविपरीतका निर्णयविरुद्ध थप दृढताका साथ प्रस्तुत हुने जनाएको छ ।
कांग्रेसले संसद्, संवैधानिक निकाय र राज्यका विभिन्न अंगहरूको अवमूल्यन हुने गरी सरकारले गतिविधि गरिरहेको आरोप लगाएको छ । संसद्प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको कांग्रेसको ठहर छ ।
यसैगरी कांग्रेसले पार्टीको नाम, लेटरप्याड, चारतारे झन्डा, चुनाव चिह्न रुख तथा अन्य आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग नगर्न सम्बन्धित व्यक्ति तथा समूहलाई आग्रह गरेको छ ।
पार्टीको दाबीअनुसार २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको म्यान्डेटअनुसार २०८३ असोज १६ देखि २३ गतेसम्म सम्पन्न १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । उक्त विवरण निर्वाचन आयोगबाट २०८३ मङ्सिर ८ गते अद्यावधिक भइसकेको कांग्रेसले जनाएको छ ।
पार्टीको आधिकारिक नाम, झन्डा, चुनाव चिह्न र अन्य प्रतीक प्रयोग गरी गतिविधि सञ्चालन गर्ने तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्