२८ आश्विन २०८३, बुधबार

भारतमा कक्रोच जनता पार्टीका प्रमुख नेता प्रहरी हिरासतमा

कोलोराडोखबर संवाददाता , October 14th, 2026

नेपाल । भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेतालाई प्रहरीले हिरासतमा लिएको छ ।

पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गरिरहेका छन् । यद्यपि, निर्वाचन आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।

दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको जनाएको थियो । राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई पहेँलो धातुका बारले घेरेर केही दिनदेखि बन्द गरिएको थियो र त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । तर, मङ्गलबार सिजेपी नेता अभिजीत दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारी सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको देखिन्छ ।

प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो । सिजेपीले सामाजिक सञ्जालमा आफ्ना नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिन्देसहितका नेतालाई प्रहरीले हिरासतमा लिएको जनाएको छ । दिप्केले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै प्रतिरोधलाई रोक्न नसकिने बताउनुभएको छ । दिल्ली प्रहरीले जन्तर मन्तरको विकल्पका रूपमा सोमबार तीनवटा आधिकारिक प्रदर्शनस्थल तोकेको थियो ।

दशकौँदेखि प्रदर्शन हुँदै आएको जन्तर मन्तरमा सिजेपीले पनि यसअघि आन्दोलन गरेको थियो । उक्त पार्टीको प्रदर्शनपछि परीक्षामा अनियमितता भएको विवादका कारण गत जुलाईमा शिक्षामन्त्रीले पद छाड्नुभएको थियो । यसैबिच, प्रधानमन्त्री मोदीले मङ्गलबार नयाँदिल्लीमा आयोजित व्यापार सम्मेलनमा भारतलाई ‘लोकतन्त्रकी जननी’ बताउनुभएको छ । उहाँले देशमा विभिन्न विषयमा खुला बहस हुने र फरक दृष्टिकोणमाथि छलफल गरिने उल्लेख गर्नुभयो । तर, उहाँले जारी विरोध प्रदर्शनबारे प्रत्यक्ष टिप्पणी गर्नुभएन ।

प्रतिक्रिया दिनुहोस्