नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने भएको छ।
पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा यो योजना सार्वजनिक गरिएको हो। जनतासँगको सम्बन्ध थप सुदृढ गर्ने र सङ्गठनलाई तल्लो तहसम्मै गतिशील बनाउने उद्देश्यले यो कदम चालिएको हो।
कार्यशालामा बोल्दै पार्टी सचिव डा राजन भट्टराईले डिजिटल प्रणालीको भरपुर उपयोग गरिने बताएका छन्। पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमबाटै अघि बढाउन पार्टी पंक्तिलाई प्रेरित गरिने उनको भनाइ छ।
त्यस्तै, अर्का सचिव भानुभक्त ढकालले पार्टीका सदस्यता तथा अन्य महत्त्वपूर्ण दस्तावेजहरूलाई प्राकृतिक एवं अन्य सङ्कटबाट जोगाउन र काम कारबाहीलाई थप चुस्तदुरुस्त बनाउन सदस्यता प्रणालीलाई डिजिटल बनाउनु अपरिहार्य भएको औंल्याएका छन्।
यसबाहेक, नेता तथा कार्यकर्ताहरूको राजनीतिक चेतना र कार्यक्षमता अभिवृद्धि गर्न वडा तथा पालिका तहसम्मै विशेष प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि पार्टीले गरेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्