२४ जेष्ठ २०८३, आईतवार

स्वदेशी उद्योगको संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्छः नेपाल

कोलोराडोखबर संवाददाता , June 7th, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले सरकार रोजगारी सिर्जना, स्वदेशी उद्योगको संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन्।

शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यले लगानीमैत्री वातावरण बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।

राज्यको प्रमुख दायित्व नै रोजगारीका अवसरहरू सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको उनको भनाइ थियो। उद्योग तथा व्यवसायमा प्रतिकूल असर पर्ने गरी राज्यले कुनै पनि नीति लिन नहुनेमा उनले जोड दिए।

देशभित्र उद्योग व्यवसायले प्रोत्साहन पाउन नसक्दा युवाहरू रोजगारीका लागि वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको उनले उल्लेख गरे। आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको आरोप उनले लगाए। स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत मात्रै आर्थिक सुदृढीकरण सम्भव भए पनि सरकारको त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्