नेपाल । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको नयाँ दर्तामा रोक लगाएको छ । विभागले बढ्दो ट्राफिक जाम, वायुप्रदूषण र सडकको चाप कारण देखाएर अर्को सूचना जारी नहुँदासम्म सवारी दर्तामा रोक लगाएको सूचना सार्वजनिक गरेको हो ।
विभागका निर्देशक मणिराम भुसालले दर्ता रोक लगाएको परिपत्र सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पठाइएको जानकारी दिनुभयो । विभागका अनुसार इन्धनबाट चल्ने मात्र नभई विद्युतीय सार्वजनिक सवारीको नयाँ दर्ता पनि रोकिएको छ ।
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, अत्यधिक वायुप्रदूषण बढ्नु, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा गम्भीर कठिनाइ उत्पन्न हुनु र इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात सञ्चालनमा देखिएको असहजता र कठिनाइका कारण दर्तामा रोक लगाइएको विभागले जनाएको छ । विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको भुसालले बताउनुभयो ।
यातायात व्यवसायीले पनि यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् ।
सवारी दर्ता रोकिएको विषयलाई लिएर नेपाल चेम्बर अफ कमर्सले यस निर्णयले अटोमोबाइल व्यवसायी ठुलो आर्थिक जोखिममा परेको जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्