४ जेष्ठ २०८३, सोमबार

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौंकी कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान

कोलोराडोखबर संवाददाता , May 18th, 2026

नेपाल । कान्स फिल्म फेस्टिभलको ७९ औँ शृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल शनिबार फ्रान्स प्रस्थान गर्नुभएको छ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो। फेस्टिभलका विभिन्न सत्रमा सहभागी भई उहाँ जेठ ८ गते स्वदेश फर्कने कार्यक्रम छ।

कान्स र काठमाडौँ दुवै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को ‘क्रिएटिभ सिटी’ (रचनात्मक सहर) को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डङ्गोललाई पठाउनुभएको निमन्त्रणापत्रमा भनिएको छ, “फेस्टिभल रचनात्मक सहरलाई एकै ठाउँमा ल्याउने अवसर हो। फेस्टिभलमा ‘अन–एयर’ शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे बुझ्न यसले सहज बनाउनेछ ।”

कार्यवाहक प्रमुख डङ्गोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उहाँको भेटवार्ता हुने कार्यक्रम छ । यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको ‘इलिफेन्ट इन द फग’ चलचित्र प्रदर्शन हुँदै छ ।

युनेस्कोबाट विसं. २०८० कात्तिक १४ गते काठमाडौँ महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो। त्यतिबेला विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रूपमा थप गरिएको थियो। सोही समयमा काठमाडौँ महानगरसहित विश्वका २६ वटा नगर चलचित्र विधाबाट सदस्य भएका थिए। रचनात्मक सहरको विश्व सञ्जालमा १०० भन्दा बढी देशका ४०० वटा सहर आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्