२२ बैशाख २०८३, मंगलवार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग साउनबाट व्यावसायिकरुपमा सञ्चालन हुने

कोलोराडोखबर संवाददाता , May 5th, 2026

नेपाल । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३–८४ देखि सञ्चालन गर्ने योजना बनेको छ ।

प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार सुरुङमार्गको स्थलगत अनुगमन गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले जानकारी गराउनुभएको हो ।

आयोजना प्रमुख नेपालले जेठ अन्तिमदेखि सुरुङमार्ग परीक्षण सुरु गरिने र साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक किसिमले सञ्चालन गरिने जानकारी गराउनुभएको थियो ।

आयोजना प्रमुख नेपालले २०८२ सालको साउन र भदौमा परेको भारी वर्षाका कारण आयोजनाको पश्चिमी पोर्टलमा गएको पहिरोले आयोजना निर्माण र सञ्चालन ढिलो हुन गएको बताउनुभयो ।

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको जानकारी गराउँदै आयोजना प्रमुख नेपालले आयोजनाको लागत वृद्धि, निर्माणमा भएको ढिलाइ तथा पटक पटक म्याद थप गर्नुको कारण तथा सुरुङमार्ग सञ्चालनका क्रममा गरिएको सुरक्षा प्रबन्धको तयारीबारे समितिका प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो ।

सुरुङमार्ग सञ्चालन गर्न १५० जना जनशक्ति आवश्यक देखिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्