२३ कार्तिक २०८१, शुक्रबार

पत्रकारितामा प्रविधिको प्रलय

कोलोराडोखबर संवाददाता , February 24th, 2024

कुनै दिन कृतिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)ले समाचार ‘ब्रेक’ गर्दा आश्चर्य हुने छैन ।

–लेखनाथ पाण्डे–

दि इकोनोमिस्ट पत्रिकाले अगस्ट २००५ को अन्तिम अंकमा ‘कभर स्टोरी’ छाप्यो, जसको शीर्षक थियो, ‘अखबारको हत्या कसले गर्यो ?’औँला इन्टरनेटप्रति इंगित थियो । इन्टरनेट तथा अनलाइन मञ्चहरूले विज्ञापन खोसेका कारण पत्रपत्रिका संकटापन्न अवस्थामा पुगेको लेखको निचोड थियो । यहाँसम्म कि, सन् २०४३ ताका अमेरिकामा आखिरी अखबार छापिरहेको हुनसक्ने भविष्यवाणी गरिएको थियो ।

मिडिया मुगल रुपर्ट मुर्डकले भने अलि फरक धारणा राखेका थिए । उनको भनाइ थियो, ‘अखबारहरू बाँच्नेछन्, तर फरक आकार र ढाँचामा ।’ सन् २००८ ताका उनले प्रविधिका कारण अखबारले २१औँ शताब्दीमा नयाँ उचाइ हासिल गर्ने दाबी गरे । यद्यपि, छापा माध्यमको उत्पादन तथा व्यावसायिक ढाँचामा आमूल परिवर्तन आउने विचार दोहोर्याए ।

इकोनोमिस्टको उक्त आलेख झण्डै १८ वर्ष भयो । इन्टरनेटले परम्परागत पत्रकारिता व्यवसाय धरासायी बनाएको अवश्य हो तर प्रतिस्थापन गरिसकेको अवस्था होइन । कतिपय अखबारले इन्टरनेटको संक्रमण सामना गर्दै त्यसलाई व्यवसायको हिस्सा बनाएका छन् । इन्टरनेटमै आधारित भएर उदाएको सामाजिक संजालले भने छापा माध्यम मात्र होइन, रेडियो तथा टेलिभिजनसामु पनि गम्भीर चुनौती पैदा गरेको छ । संजालका कारण पत्रकारिता मात्र होइन, समाचारकै मृत्युको शंखनाद गरेको कतिपयको टिप्पणी छ ।

छापा माध्यमसामु चुनौती खडा भएको यो पहिलो घटना भने होइन । २०औँ शताब्दीको सुरुताका अमेरिकामा २४ हजारभन्दा अधिक पत्रपत्रिका प्रकाशित हुन्थे । सन् २००५ मा झण्डै एकतिहाइ घटेर ८ हजार ८ सय ९१ पत्रपत्रिका मात्र बाँकी रहे । इन्टरनेट र सामाजिक संजालले पत्रपत्रिका विलुप हुने गति तीव्र पारेकामा भने शंका छैन ।

मेडिल स्कुल अफ जर्नालिज्मको अध्ययनअनुसार सन् २००५ देखि २०२२ सम्ममा अमेरिकामा करिब २ हजार ९ सय अखबार बन्द भए । र, यो क्रम बर्सेनि बढ्दो छ । सन् २०२२ मा त्यहाँ प्रत्येक साता दुई पत्रिकाको प्रकाशन बन्द भयो भने गत वर्ष दुई हप्तामा पाँच अखबारका प्रकाशन रोकिए । फोब्र्सका अनुसार गत नोभेम्बरसम्म अमेरिकामा करिब ६ हजार पत्रपत्रिका प्रकाशनरत छन्, जसमध्ये अधिकांश (४ हजार ७ सय ९०) साप्ताहिक हुन् ।

प्रतिव्यक्ति अखबार बिक्रीका हिसाबले अग्रपंक्तिमा रहेका जापान, नर्डिक राष्ट्रहरू तथा बेलायतमा छापा माध्यमको हालत उस्तै छ । विकासोन्मुख देशहरूमा दशक अघिसम्म परम्परागत पत्रकारिता फष्टाउँदो व्यवसाय थियो । अहिले भारत, चीन र दक्षिण अफ्रिकाजस्ता देशमा अखबारको बिक्री तथा पाठक संख्यामा ह्रास आएको छ । उसो त रेडियो तथा टिभीका स्रोता पनि क्रमशः घट्दै गएका छन् । यद्यपि, विकसित देशको तुलनामा विकासोन्मुख देशमा यसको गतिविधिमा देखिन्छ ।

चीनमा सन् २०१२ मा १ हजार ९ सय १८ पत्रपत्रिका प्रकाशित हुन्थे, सन् २०२२ मा उक्त संख्या १ हजार ७ सय ९ मा झरेको छ । यस्तै, सन् २०१३ नोभेम्बरमा चीनमा १ अर्ब ६३ करोडप्रति अखबार बिक्री भएकोमा एक दशकपछि २०२३ नोभेम्बरमा २९ करोडप्रति बिक्री घटेर यो आँकडा १ अर्ब ३४ करोडमा सीमित छ ।

भारतीय पाठक सर्वेक्षणले पत्रपत्रिकाको व्यापक उपलब्धता तथा सस्तो मूल्यका कारण सन् २०१९ मा छापामाध्यमको पाठक बढ्दो क्रममा देखाएको थियो । कोभिड–१९ महामारीसँगै यसको गति उल्टो देखिन्छ । पछिल्ला अध्ययनले ठूला राष्ट्रिय तथा क्षेत्रीय पत्रपत्रिकाका बिक्री, मोटाइ तथा पाठक घट्दै गएको देखाउँछ । कतिपय अखबारका पाठक डिजिटल संस्करणमा सरेका छन्, जहाँ तिनले पैसा तिरेर पढ्ने गर्छन् ।

आयआर्जनको दृष्टिले भने भारतका ठूला सञ्चारगृहको ‘रिभेन्यु’ कोभिडपूर्वको अवस्थातर्फ उन्मुख देखिन्छ । यसको श्रेय सरकारी विज्ञापन, उच्च आर्थिक वृद्धि तथा अखबारका वफादार पाठकवर्ग हुन् । इवाई इन्डियाका अनुसार सन् २०१९ मा भारतमा छापा माध्यमको कुल ‘रिभेन्यु’ भारु २ सय ५ अर्ब थियो । कोभिड महामारीका कारण सन् २०२० मा ४० प्रतिशतले घटेर भारु १ सय २१ अर्बमा खुम्चियो । सन् २०२२ मा समग्र छापा माध्यमको रिभेन्यु भारु १ सय ७० अर्ब हाराहारी पुगेको छ ।
०००

पत्रकारिताको सबैभन्दा प्रमुख पक्ष ध्यानाकर्षण गर्न सक्नु हो । यसैमा पत्रकारिताको व्यावसायिक सफलता वा असफलता निर्भर हुन्छ । २०औँ सताब्दीको दोस्रो दशकसम्म छापा माध्यमको एकल राज थियो, विज्ञापनजति अखबारमा ओइरिन्थ्यो । र, त्यसताका युरोप र अमेरिकामा अखबारी पत्रकारिता सफलताको शिखरमा थियो ।

सन् १९२० र सन् १९३० को दशकमा रेडियो तथा टेलिभिजन आगमनसँगै हाम्रो ध्यान तान्ने छापा माध्यमका प्रतिस्पर्धी भित्रिए । समाचार पढ्ने मात्र होइन, सुन्न र हेर्न सकिने भयो । अहिले छापा तथा विद्युतीय माध्यमको सहअस्तित्वको इतिहास शताब्दी लामो भइसकेको छ ।

तर, रेडियो अस्तित्वमा आउँदा पनि अखबारको मृत्युको शंखनाद नगरिएको होइन । रेडियोलाई पत्रपत्रिकाले निकै समय सौताको व्यवहार गरे । अमेरिकामा रेडियोलाई समाचार भन्नबाट रोक्न निकै कोशिस भयो । अन्ततः बिहान १० बजेसम्म अखबार बिक्रीवितरण गर्ने, र त्यसपछि मात्र रेडियोले समाचार फुक्न पाउने व्यवस्था गरियो । त्यसैले उतिबेला ‘१० बजेपछि अखबार मर्छ’ भनिन्थ्यो ।

अहिले त अखबार छापिनु अगावै आयु सकिइसक्छ । अखबारमा आउने सूचना र जानकारी पहिल्यै समाचार पोर्टल र सामाजिक संजालमा बिस्कुन लागिसकेको हुन्छ । छापा माध्यमको कुरै छाडौँ, रेडियो र टिभीलेसमेत समाचार ‘ब्रेक’ गर्न मुस्किल छ । कुनै दिन कृतिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)ले समाचार ‘ब्रेक’ गर्दा आश्चर्य हुने छैन ।
०००

प्रविधिको विकासले सञ्चार माध्यममाथि निरन्तर प्रभाव पार्दै आएकोमा शंका छैन । प्रविधिको जगमा नै परम्परागत पत्रकारिताले चौथौ अंगको मुकाम हासिल गरेको हो । तिनले इन्टरनेटसँग पौँठेजोरी रोजेनन्, बरु सहअस्तित्व आत्मसात गर्दै त्यसलाई व्यवसाय विस्तारको हिस्सा बनाए । तर, इन्टरनेटकै जगमा अघि बढेको सामाजिक संजालले भने परम्परागत पत्रकारिताको अस्तित्वमाथि नै धावा बोलेको छ । छापा र विद्युतीय माध्यमको समाजिक संजालसँग साक्षात्कार र सहकार्यका बाबजुद तिनका स्रोता सेलाएका छन् । अखबार एवं टेलिभिजनका पर्दामा अडिने आँखा, अनि रेडियोमा लाग्ने कान संजालमा बसाई सरेका छन् ।

पछिल्लो तथ्यांकअनुसार प्रत्येक व्यक्ति दैनिक औसत ६ घण्टा ४८ मिनेट ‘डिजिटल स्क्रिनमा’ बिताउँछन् । इन्टरनेट प्रविधिको व्यापकतासँगै जन्मिएका ‘जेन जी’ पुस्ता तथा विकासोन्मुख देशका युवा यसमा अझ अगाडि छन् । अमेरिकी युवाले औसत दैनिक ७ घण्टा ४ मिनेट डिजिटल पर्दामा बिताउँछन् भने दक्षिण अफ्रिकी युवाले १० घण्टा ४६ मिनेट खर्च गर्छन् । ‘जेन जी’ पुस्ताका युवाको यस्तो अवधि औषत दैनिक नौ घण्टा छ । कतिपय व्यक्तिमा त मोबाइलमा झुन्डिने लत बसेको हुन्छ, जसलाई ‘डिजिटल दुर्व्यसनी’ भन्दा अयुक्ति नहोला ।

नेपालमा यससम्बन्धी आधिकारिक तथ्यांक उपलब्ध छैन । अनुमान गर्न सकिने के भने हाम्रो अवस्था पनि समग्र विकासोन्मुख देशकैजस्तो हुन सक्छ । मैले पत्रकारिताका अध्ययनरत विद्यार्थीलाई हालै सोधेको थिएँ, ‘तपाईंहरू दिनमा कति समय मोबाइल फोनमा बिताउनुहुन्छ ?’ धेरैले ८ देखि १० घण्टा बताए । केहीले भने यस्तो समय १२÷१४ घण्टासम्म पनि पुग्ने गरेको सुनाए । तर तिनै विद्यार्थी दिनमा आधी घन्टा पनि रेडियो, टिभी वा पत्रपत्रिका सुन्न, हेर्न वा पढ्दैनन् । केहीले भने अखबारका सामग्री अनलाइनमा पढ्ने गरेको बताए ।

यस्तो परिदृश्यमा परम्परागत सञ्चार माध्यम, विशेषगरी छापा माध्यमको सान्दर्भिक ता जोगाउन सहज छैन । बिबिसी, दि न्युयोर्क टाइम्स, साउथ चाइना मर्निंङ पोस्ट, दि हिन्दु, दि गार्डियन, ओ ग्लोबोजस्ता प्रतिष्ठित सञ्चारसंस्थाले ‘डिजिटल कन्टेन्ट’का लागि लगानी बढाउनेदेखि आम्दानीका ढाँचामा विविधता थपेका छन् । कतिपयले ‘पे वाल’ को व्यवस्था गरेका छन्, ‘क्राउड फन्डिङ’ मा गएका छन्, कर्मचारी कटौती तथा एआइको प्रयोगमार्फत् समाचार कक्ष चुस्त तुल्याएका छन् ।

यस्ता कदमबाट आंशिक सफलता नमिलेको होइन । तिनका पाठक तथा दर्शक बढेका छन् । कतिपय अखबारहरूको आम्दानीको मूल हिस्सा पत्रिका बिक्री तथा विज्ञापन नभएर ‘डिजिटल कन्टेन्ट’ हुन थालेको छ । तैपनि तिनीहरू नाफा बढाउनभन्दा पनि खर्च भरथेग गर्न तथा लागत घटाउन मात्र कामयाव भएका छन् ।
०००

डिजिटल कन्टेन्ट’मा प्राथमिकता र लगानी प्रवद्र्धनका बाबजुद अपेक्षित प्रतिफल किन आइरहेको छैन ? जवाफका लागि परम्परागत र नयाँ माध्यमका व्यापार ढाँचाबारे बुझ्नु जरुरी छ । परम्परागत सञ्चार माध्यम मूलतः समाचार सामग्री (कन्टेन्ट) सुरुमा स्रोतालाई वितरण गर्छन् । र, तिनै स्रोतालाई पुनः विज्ञापनदातासामु बिक्री गर्छन् । अर्थात्, स्रोताको परिणाम र पहुँचका आधारमा तिनको विज्ञापन दर र आय तय हुन्छ । स्रोता बफादार रहुन्जेल तिनले कमाल गरे । स्रोता जब डिजिटल पर्दातर्फ मोडिए, तिनका संकट चुलिए ।

परम्परागत पत्रकारिताको आर्थिक चुनौती मुख्य हो, तर चुनौती त्यति मात्र छैन । पत्रपत्रिका, रेडियो र टेलिभिजनमा सामान्यतः सामग्री उत्पादनदेखि वितरणसम्म खर्चिलो र ज्यादा समय लाग्छ । तैपनि स्रोताले त्यस अनुरूपको ‘इन्गेजमेन्ट’ र आनन्द पाउँदैनन्, जुन डिजिटल सामग्रीमा प्राप्त गर्दछन् । तसर्थ, केटाकेटीदेखि बुढापाकासम्म नयाँ माध्यम र प्रविधितर्फ बसाई सरेका हुन्, जो एकाध दशक अघिसम्म परम्परागत माध्यममा झुम्मिन्थे ।

जता स्रोता वा दर्शकको आकर्षण छ, विज्ञापन उतै सरेको छ । गुगल, फेसबुक, टिकटकजस्ता सामाजिक संजालमा भरमार विज्ञापन छ । सन् २०२२ मा गुगलले करिब २ सय २५ अर्ब अमेरिकी डलरको विज्ञापन प्राप्त ग¥यो, जुन एक दशकअघि ५१ अर्ब डलर थियो । सन् २०२१ मा गुगलसहित पाँच ठूला प्रविधि कम्पनीहरू— मेटा, अलिबाबा, बाइटडान्स र अमेजनले विश्व विज्ञापन बजारको ५३ प्रतिशत हिस्सा ओगटेका थिए ।

मूलतः विज्ञापनमै आश्रित परम्परागत छापा तथा विद्युतीय माध्यममा विज्ञापनको खडेरी छ । बिडम्बना मान्नुपर्छ, जसले समाचार सामग्री उत्पादन गर्छ, त्यसनिम्ति लगानी गर्छ, उसैले विज्ञापन पाइरहेको छैन । तर, जसले सामग्री उत्पादन गर्दैनन्, बरु अरूका उत्पादन प्रविधिको सहायताले आमउपभोक्तासम्म द्रुत रूपमा पुर्याउँछन्, तिनले अकुत कमाइरहेका छन् ।

अर्थात्, परिश्रम गर्ने पत्रकारिता व्यवसाय छ, तर अर्थोपार्जन गर्ने मुठ्ठीभर प्रविधि कम्पनीहरू छन् । यस दृष्टिले गुगल, फेसबुक, टिकटक सबै बिचौलिया हुन्, जसको स्वयं उत्पादन केही छैन । छन् त, कराडौँ, अर्बौं प्रयोगकर्ता । तिनले पत्रकारिता जगतले उत्पादन गरेका सामग्री ओसारपसार गर्दा ‘कपिराइट’ शुल्क पनि बुझाउँदैनन् । बरु, तिनका आफ्नै सब्सक्राइबर र फलोअर्सले कन्टेन्ट उत्पादन गर्छन्, अपलोड गर्छन्, सेयर गर्छन् कमेन्ट गर्छन्, लाइक आदि गर्छन् । अल्गोरिदम र एआइको बढ्दो प्रयोगले यस्ता गतिविधिलाई झनै बढावा दिएको छ । बिचौलिया प्रविधि कम्पनीहरू यसैमा डलर छापिरहेका छन् ।

आज पनि छापा तथा विद्युतीय माध्यमको ‘कन्टेन्ट’ उत्पादनमा अहं भूमिका र भविष्य छ । तर, ‘कन्टेन्ट’ वितरणमा तिनको भूमिका शून्यप्रायः भइसक्यो । उक्त भूमिका सीमित प्रविधि कम्पनीको कब्जामा छ । वर्षौंदेखि स्थापित अखबार, रेडियो र टेलिभिनका स्रोता लाख भेट्टाउन मुस्किल छ, तर व्यक्तिगत टिकटक अकाउन्ट या युट्युब च्यानलमा लाखौँ, करोडौँ ‘फलोअर्स’ तथा ‘सब्सक्राइबर’ हुन्छन् । कतिपय अखबारले भन्दा एक युट्युबर वा भ्लगरले बढी आम्दानी गरिरहेका छन् । यसर्थ, सञ्चारकर्म आफैँमा धराशायी भएको छैन, परम्परागत पत्रकारिता मात्र चौपट भएको हो ।

हिजोआज कुनै स्थानीय अखबारको प्रतिस्पर्धा अर्को प्रतिस्पर्धी स्थानीय अखबार, रेडियो, टिभी वा समाचार पोर्टलसँग हुँदैन, न हुन्छ बिबिसी, सिएनएन, वा चाइना डेली वा न्यूयोर्क टाइम्सजस्ता बहुराष्ट्रिय, क्षेत्रीय वा राष्ट्रिय सञ्चार माध्यमसँग । बरु, ‘कन्टेन्ट’ वितरण तथा विज्ञापनका लागि तिनको प्रत्यक्ष प्रतिस्पर्धा १०औँ खर्ब डलर बजार पुँजीकरण भएका सीमित प्रविधि ‘जायन्ट’हरूसँग भइरहेको छ । हात्ती र बाख्राबीचको यस्तो असमान प्रतिस्पर्धामा पत्रकारिता व्यवसाय कसरी फस्टाउन सक्छ ?

रेडियो वा टिभी अस्तित्वमा आउँदा तिनले ‘कन्टेन्ट’ वितरणमा छापाको हिस्सा र सामथ्र्य खोस्न सकेका थिएनन् । त्यसैले रेडियो र टिभीको प्रतिस्पर्धा अखबारले पचाए । अहिले अखबार, रेडियो, टेलिभिजन वा समाचार पोर्टल सबैको मुख्य चुनौती भनेकै ‘कन्टेन्ट’ वितरणमा तिनको भूमिका नगन्य हुनु हो । ‘केन्टेन्ट’ वितरणमा प्रभावकारी हस्तक्षेप गर्न सके मुर्डकले दाबी गरेझैँ पत्रकारिताले अझै थप उचाइ भेट्टाउन सक्छ । कृतिम बौद्धिकता अर्थात् एआई त्यसका लागि एक विकल्प बन्न सक्छ । अन्यथा, परम्परागत पत्रकारिता र विशेषगरी छापा माध्यम ढिलोचाँडो इतिहासको गर्तमा विलय हुनेछ ।
०००

पत्रकारितामा देखिएको विश्वव्यापी संकटको प्रवृत्ति नेपालको सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ । हाम्रोमा अझ यो भयानक प्रलयका रूपमा प्रकट भइरहेको छ । सायदै सञ्चारगृह होलान्, जो आर्थिक संकटबाट नगुज्रिएको होस् । कोभिडपश्चात् प्रायः सबै ठूला सञ्चारगृहको विज्ञापन आधीभन्दा बढीले खस्किएको छ । गुणस्तरीय विषयवस्तु उत्पादन र सञ्चारकर्मीको सीप विकासमा लगानी अभिवृद्धि शून्यप्रायः छ । सबैको ध्यान अनुभवी पत्रकार र ‘कन्टेन्ट’ कटौतीमा केन्द्रित छ । केहीले डिजिटल कन्टेन्टमा लगानी बढाएका छन् । तर, स्रोता मात्र होइन, विज्ञापनको ‘ट्रान्जिट’ परम्परागत पत्रकारिताबाट सोझै सामाजिक सञ्जाल बन्न पुगेको छ ।

पंक्तिकार आफैँ संलग्न भएको ‘मिस्इन्फमेसन ल्यान्डस्केप स्टडी २०२३’ले नेपालमा मिथ्या सूचना तथा भ्रम फैलाउनमा सामाजिक संजाल मुख्य रूपमा जिम्मेवार रहेको देखाएको छ । संजालले फैलाएका मिथ्या खबर र भ्रम चिर्न पत्रकारिताको भूमिका अहं हुनुपर्ने हो । तर पत्रकारिता पेसा स्वयं यस्ता विकृतिबाट पीडित छ ।

आर्थिक संकटसँगै पत्रकारितामा तथ्य, निष्पक्षता, सन्तुलन र उत्तरदायित्वजस्ता सर्वमान्य आदर्श धर्मराएका छन् । जेनतेन चलेका पत्रपत्रिका दुब्लाएका छन्, पुलआउट देखिन छाडेको छ । जनशक्ति उत्पादन तथा सीप विकासमा उस्तै समस्या छ । प्रविधि सुहाउँदो पाठ्यक्रम र विद्यार्थी अभावमा शैक्षिक तथा तालिम केन्द्रहरू भटाभट बन्द भएका छन् ।

सञ्चार माध्यमको संख्या (चार हजारभन्दा बढी) र अपारदर्शी लगानी अर्को चुनौती बनेको छ । स्थापनाको उद्देश्य, लगानीकर्ता तथा लगानीको स्रोत पारदर्शी नभएको सञ्चार संस्थाको न वर्तमान छ, न भविष्य । तिनले न सशक्त प्रतिपक्षी न चौथौ अंगको भूमिका निर्वाह गर्न सक्दछन् । पत्रकारिताप्रति युवा विकर्षण विकराल देखिन्छ । पत्रकारिताप्रति जनविश्वास उसै खस्किएको छ । यसमा राजनीतिक दल, नेता तथा कार्यकर्ता र सामाजिक संजाल अतिरिक्त उत्प्रेरक बनेका छन् ।

यस्तो परिस्थितिमा परम्परागत सञ्चारमाध्यम र विशेषगरी अखबार कसरी जोगाउने ? यसबारे विमर्श नभएको होइन । चौथौ अंगको भूमिका र सान्दर्भिकता बचाइराख्न गम्भीर हस्तक्षेप गर्नुैपर्ने धेरैको निष्कर्ष छ । पत्रिका सम्पूर्ण रूपमा डिजिटल संस्करणमा जानुपर्ने अवस्था देखिन्छ । यद्यपि, स्रोताको विकर्षण र घट्दो आयका कारण तिनका चुनौती थपिएका थपियै छन् । सामग्री पढ्न वा हेर्नका लागि ‘सब्सक्रिप्सन’ र ‘पे वाल’ को व्यवस्था गर्दा स्रोता मुफतका सामग्रीतर्फ मोडिएका छन्, भलै ती ‘हाइजेनिक’ हुन् या नहुन् ।

स्विडेनजस्ता केही उदारवादी समाजमा गरिएका अध्ययनले स्थानीय अखबार जोगाउन राज्य नै अग्रसर हुनुपर्ने राय दिइएको छ । यस्तो उपाय जोखिमरहित भने छैन । शासकहरू उसै पत्रकारिता कमजोर हुँदा हाइसन्चो मान्छन् । शक्ति र सत्तामा रहेकामाथि प्रश्न सोध्ने चौथौ अंगको क्षमता क्षीण हुँदा तिनको रजगज अझ झांगिन्छ । अझ निरंकुश व्यवस्था वा छद्म प्रजातान्त्रिक समाजमा पत्रकारितामाथि राज्यको भरथेग र लगानीले चौथो अंगको मर्ममाथि उल्टै प्रहार गर्न सक्छ ।

समग्रमा, छापा माध्यमको एकाधिकार शताब्दीअघि नै तोडिएको हो । अहिले प्रविधिका कारण परम्परागत पत्रकारिता पेसा नै संकटापन्न अवस्थामा छ । जब सूचना संकलन, विषयवस्तु उत्पादन तथा वितरण गर्ने काम हरकोहीले सजिलै गर्न सकिने भयो, पत्रकार तथा पत्रकारिता पेसा असान्दर्भिक बन्दै गयो । यो पेसालाई बचाइराख्न पत्रकार तथा पत्रकारिताले आफूलाई पुनः सान्दर्भिक सिद्ध गर्नु जरुरी छ । त्यसका लागि संजाल र साइबर दुनियाँमा पहिल्यै बिस्कुन लाग्ने सूचना तथा सामग्रीभन्दा पृथक, बिस्तृत तथा भिन्न कोणसहितका सामग्री पस्किन केन्द्रित हुनुपर्छ, जसलाई संभावित पाठक वा स्रोताले बेवास्ता गर्नै नसकुन् ।

यो भन्न जति सजिलो छ, गर्न उत्तिकै कठिन छ । तर, पत्रकार र पत्रकारितासामु यो जोखिम उठाउनुबाहेक अरू विकल्प छैन । ‘सूचनाबोझ’को समकालीन दुनियाँमा पृथक र गुणस्तरीय विषयवस्तुले मात्र पत्रकार तथा पत्रकारिता पेसालाई सान्दर्भिक र जीवित राख्न सक्छ । यसका लागि अनुभवी पत्रकार तथा खर्चको कटौती होइन, बरु खाँचो पर्छ ।

निष्कर्षमा, सूचना प्रविधिको प्रभाव पत्रकारितामा कहिल्यै अन्त्य हुने छैन, भविष्यमा यो झन् बढ्नेछ । तर, जुन सञ्चार माध्यमले प्रविधि अनुकूल व्यावसायिक ढाँचा परिवर्तन गर्छन्, जसले स्रोताका आवश्यकता पहिचान गरी भिन्न र गुणस्तरीय सामग्री पस्किन सक्षम हुन्छन्, अनि जसले प्रविधिको प्रलय सामना गर्दै त्यसका अवसरको सक्दो सदुपयोग गर्छन्, तिनै पत्रकार तथा सञ्चारमाध्यम बाँच्नेछन् ।

(त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक पाण्डे सञ्चार तथा पत्रकारिता विषयका अध्येता हुन्)
–सौर्य दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्