२२ असार २०८२, आईतवार

विदेशमा दुई नेपाली युवा शिक्षासेवामा समर्पित, प्रभावकारी बन्दै ‘अनलाइन ट्युसन प्लेटफर्म’

कोलोराडोखबर संवाददाता , July 6th, 2025

अमेरिका । अमेरिका धेरैका लागि सपना पुरा हुने देश हो, तर यी दुई युवा सन्दीप पौडेल र आशिष आचार्यको सपना सधैं स्वदेशमै अडिएको थियो ।

दैनिक व्यस्तता, संघर्षपूर्ण जीवनशैली, र समय अभावबीच पनि उनीहरू सधैं यही सोचमा थिए—‘स्वदेशका लागि केही गरौं, केही फर्काऔं ।’ प्रवासमा रहेर पनि संसारका लागि शिक्षा तथा देशका लागि केही सकारात्मक योगदान दिन सकिन्छ भन्ने सपना र हुटहुटी कै उपज बन्यो ‘Learning Center’ ।

प्रवासको एउटा सानो कोठा अमेरिकाको कोलोराडोबाट सुरु भएको एक दुरगामी सोचले आज सयौं विद्यार्थीको भविष्य उज्यालो बनाइरहेको छ । यो कथा तिनै दुई नेपाली युवाहरू—सन्दीप पौडेल र आशिष आचार्यको हो , जसले आफ्नो आत्मविश्वास, लगनशीलता र नौलो सोचका भरमा ‘Learning Center” नामक अनलाइन ट्युसन प्लेटफर्मको सुरुवात गरे ।

अनौपचारिक रूपमा सन् २०२४ मा सुरु गरिएको यो प्रयास सन् २०२५ मा औपचारिक रूपमा दर्ता भई सञ्चालनमा आयो । सुरुमा केही विद्यार्थी र सीमित स्रोतसाधनबाट अगाडि बढाइएको यो प्रयास अहिले नेपाल, अमेरिका, क्यानडा लगायत अन्य देशमा पनि फैलिने क्रममा रहेको छ ।

यो प्लेटफर्मले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीलाई State Level Curriculum मा रहेका CMAS , MCAP, The Specialized High Schools Admissions Test (SHSAT) इत्यादीलाई समेट्दै गुणस्तरीय, समयअनुकूल र सहज शिक्षा प्रदान गर्दै आएको छ ।

यस संस्थाको उद्देश्य केवल ट्युसन पढाउनु नभएर शिक्षालाई सबैका लागि पहुँचयोग्य, प्रभावकारी र आधुनिक बनाउनु हो । विशेषगरी व्यस्त जीवनशैलीका कारण छोराछोरीको पढाइमा समय दिन नसक्ने अभिभावकका लागि ‘Learning Center आज एक भरपर्दो सहयोगीको रूपमा स्थापित भएको छ किनभने अनलाइन माध्यमबाट पढाइ हुने भएकाले विद्यार्थीहरूले घरमै बसेर अनुभवी शिक्षकहरूसँग पढ्ने अवसर पाएका छन् । यसले भौगोलिक दूरी, समयको अभाव वा अन्य बाधाका कारण पढाइबाट टाढा रहेका विद्यार्थीहरूलाई शिक्षामा पहुँच दिन सहयोग पुर्याकएको छ ।

‘Learning Center’ ले केवल Academic पक्षमा मात्र होइन, व्यक्तित्व विकास, कला, संगीत, नृत्य सिर्जनात्मक लेखन जस्ता Non-Academic पक्षमा पनि आफ्नो सेवा दिदै आएको छ जसले गर्दा विद्यार्थीहरूलाई बहुआयामिक विकासको दिशातर्फ अघि बढ्न उत्प्रेरित गरेको छ ।

अझ उत्साहजनक र महत्वपुर्ण पक्ष के छ भने, यस Center ले नेपालका धेरै संघर्षशील र प्रतिभाशाली युवाहरूलाई रोजगारीको अवसर दिएको छ । शिक्षक, समन्वयक, सामग्री विकासकर्ता, टेक्निकल सपोर्ट लगायतका जिम्मेवारी सम्हाल्दै उनीहरूले आफ्नो सीप र दक्षता प्रस्तुत गर्न पाएका छन् । यसले देशमै रोजगारी सिर्जना गर्नुका साथै प्रविधि-आधारित शिक्षा प्रणाली निर्माणतर्फ ठूलो योगदान दिएको छ ।

यी दुई युवाको आत्मविश्वास, दृष्टिकोण र प्रतिबद्धता आजकै पुस्ता मात्र होइन, भविष्यका लागि पनि एउटा प्रेरणादायी उदाहरण बनेको छ । जहाँ सोच, साहस र निरन्तर प्रयास एकसाथ आउँदा शिक्षा जस्तो पवित्र क्षेत्रमा पनि नयाँ सम्भावनाको ढोका खुल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्