नेपाल । एक वर्षमै चार खर्ब रुपियाँले बढेर मुलुकको अर्थतन्त्रको आकार चालु आवमा ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।
अर्थतन्त्रसम्बन्धी आधिकारिक तथ्याङ्क राख्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कले अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुधार हुँदा अर्थतन्त्रको आकार बढ्ने अनुमान गरेको हो । गत आवमा अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब रुपियाँ पुगेको संशोधित अनुमान छ । अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा मापन गर्ने प्रचलन छ ।
चालु आव २०८१–८२ मा अर्थतन्त्रको वृद्धि दर भने ३.९९ प्रतिशत हुने कार्यालयको अनुमान छ । आर्थिक वृद्धि दर मापनका लागि कार्यालयले आव २०६७–६८ लाई आधार वर्ष मानेर स्थिर मूल्य कायम गरेको छ । स्थिर मूल्यका आधारमा अर्थतन्त्रमा सो बराबरको वृद्धि दर हासिल हुने देखिएको हो ।
कार्यालयले अर्थतन्त्रका विभिन्न १८ वटा क्षेत्रको वृद्धि दर पनि स्थिर मूल्यकै आधारमा गर्छ । कर र सहुलियतसमेत समावेश हुने उपभोक्ता मूल्यका आधारमा भने अर्थतन्त्रको वृद्धि दर ४।६१ प्रतिशत हुने अनुमान छ । यसअघि विश्व बैङ्कले चालु आवमा नेपालले ४।५ प्रतिशत र एसियाली विकास बैङ्कले ४।४ प्रतिशतको वृद्धि दर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए ।
कार्यालयले राष्ट्रिय तथ्याङ्क अनुमान गर्दा चालु आवको छ महिनादेखि नौ महिनासम्मको तथ्याङ्क प्रयोग गरेको र आगामी महिनाहरूमा कुनै पनि झट्का नहुने अनुमान गरिएको जनाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आवमा औद्योगिक वर्गीकरण अनुसारका १८ वटै क्षेत्रमा वृद्धि हुने अनुमान गरेको छ । समीक्षा अवधिमा विद्युत्, ग्यासको कुल मूल्य अभिवृद्धि सबैभन्दा धेरै १३।८२ प्रतिशत हुने अनुमान छ । त्यसपछि यातायात तथा भण्डारण क्षेत्रको ९।४५ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रको ६।२९ प्रतिशत, आवास तथा भोजन सेवा क्षेत्रको पाँच प्रतिशत वृद्धि हुने अनुमान कार्यालयको छ । गत आवमा शिथिलता भोगेको घरजग्गा कारोबारमा २.७२ प्रतिशतको सुधार आउने देखिएको छ । उद्योग क्षेत्रको वृद्धि दर भने ३.७८ प्रतिशत हुने प्रक्षेपण छ । सुस्ताएको निर्माण क्षेत्रमा २।२१ प्रतिशतको सुधार आउने अनुमान छ । अर्थतन्त्रमा सबैभन्दा धेरै २५।१६ प्रतिशत योगदान दिने कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि दर ३।२८ प्रतिशत हुने अनुमान छ । कृषि उत्पादनमा हुने वृद्धिलाई यस क्षेत्रको वृद्धिको कारण मानिएको छ ।
चालु आवमा नेपालीको प्रतिव्यक्ति आय ५० डलरले बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ । गत आवमा यस्तो आय एक हजार ४६७ डलर पुगेको संशोधित अनुमान छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने विपे्रषण जिडिपीसँग तुलना गर्दा २५.८९ प्रतिशत पुग्ने अनुमान छ । त्यस्तै चालु आवमा आधारभूत मूल्यका आधारमा कुल उत्पादन ९२ खर्ब ४६ अर्ब रुपियाँ पुग्ने अनुमान छ । गत आवमा यस्तो उत्पादन ८७ खर्ब ८० अर्ब रुपियाँ रहेको संशोधित अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्