११ श्रावण २०८३, सोमबार

संस्कृत भाषा आधारभूत कक्षा सञ्चालन गर्ने काठमाडौँ विश्वविद्यालयको तयारी

कोलोराडोखबर संवाददाता , November 11th, 2024

नेपाल । काठमाण्डौं विश्वविद्यालय (केयु)ले संस्कृत भाषा आधारभूत कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । केयु स्कूल अफ एजुकेशनअन्तर्गत राईटिङ एण्ड कम्यूनिकेशन सेन्टरले संस्कृत भाषाको प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर उक्त आधारभूत कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

केयुमा आबद्ध रिसर्च एसिस्टेन्ट नूर जङ्ग शाहका अनुसार उक्त आधारभूत कक्षा यही आउदो सन् २०२४ को डिसेम्बर ६ तारिखदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । ३ क्रेडिट आवरको उक्त ४८ घण्टे आधारभूत कक्षामा सहभागिताका लागि भर्ना खुलाइसकिएको र अनलाइनमार्फत फारम भर्न सकिने व्यवस्था गरिएको रिसर्च एसिस्टेन्ट शाहले बताए ।

हाललाई कूल २५ जना रहने उक्त अनलाइन कक्षामा भर्ना हुने म्याद यही सन् २०२४ नोभेम्बर ३० तारिखसम्म मात्र रहेको जनाइएको छ। सेन्टरले यस आधारभूत कक्षाको अध्यापन सम्पन्न भए लगतै एड्भान्स कोर्सको कक्षा पनि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिँदै रिसर्च एसिस्टेन्ट शाहले संस्कृत भाषा अध्ययन गर्न इच्छुकहरुलाई अनलाइनमार्फत फारम भरी आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरेका छन्। उनका अनुसार सेन्टरले आगामी दिनमा नेपाली भाषासंगै अन्य प्रचलित राष्ट्रिय भाषाहरुका कोर्षहरु पनि अध्यापन गर्ने योजना बनाएको छ ।

अनलाइनमार्फत अध्यापन कक्षाहरु सञ्चालन हुने भएकाले नेपालभित्र वा नेपाल बाहिर रहेर पनि कक्षाहरुमा सहजै सहभागिता जनाउन सकिने शाहले बताए । आधारभूत कक्षाहरुमा सहभागी भइसकेपछि संस्कृत शब्द र व्याकरणको आधारभूत ज्ञान हुनुको साथै संस्कृत भाषामा सम्वाद गर्ने सीपको अभिवृद्धि हुने उनको विश्वास रहेको छ ।

‘नेतृत्वको लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नाराका साथ सन् १९९१ मा स्थापित यस विश्वविद्यालयले हाल मानविकी, व्यवस्थापन, वाणिज्य, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ आदि विषयहरुमा अध्यापन गरिरहेको छ ।

संस्कृत कक्षामा सहभागी हुनका लागि भर्नु पर्ने फारम तल दिएको लिंकमा उपलब्ध छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSerEycJKcyE3IkhBfN7VbhwMjebZ5VLLJWATT51glFWyAj3RA/viewform

प्रतिक्रिया दिनुहोस्