५ चैत्र २०८२, बिहीबार

कुशे औँसी पर्व पिताप्रति सम्मान गरी मनाइदै

कोलोराडोखबर संवाददाता , September 2nd, 2024

नेपाल । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व सोमबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ।

आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।​

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्