३० फाल्गुन २०८२, शनिबार

संसदभित्र अप्रिय स्थिति सिर्जना भएको जिम्मेवारी सभामुखले लिनुपर्छः गगन थापा

कोलोराडोखबर संवाददाता , May 17th, 2024

नेपाल । प्रतिनिधि सभाको बिहीबारको बैठक पनि नेपाली काँग्रेसका सांसदको अवरोधका कारण स्थगित भएको छ ।

बिहीबारको बैठकमा काँग्रेस सांसद र सत्तारुढ नेकपा एमालेका सांसदहरुबीच झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

काँग्रेसको अवरोधकै बीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि स्थिति तनावपूर्ण बनेको थियो । स्थितिले अर्कै मोड लिनसक्ने आशंका बढेपछि सभामुखले शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगित गरे ।

यता, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताएका हुन् ।

उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशन अनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको बताए ।

उनले संसदमा जबर्जस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको बताए । नेता थापाले सभामुखले आफ्नो निष्पक्ष भुमिका निर्वाह गर्न चुकेको बताए ।

महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै कांग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिए ।

महामन्त्री थापाले सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन समिति अनिवार्य शर्त भएको भन्दै समिति नबनेसम्म संसदमा सरकारी काम, कारबाही अगाडि बढ्न नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्