काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ खेलमा सहभागिता जनाउने भएको छ ।
एनआरएनएद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आफ्नो सहभागिता र तयारीबारे जानकारी दिएको हो । सङ्घका अनुसार प्रतियोगितामा ११ खेलका ४५ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियल र स्वास्थ्यकर्मी गरी कुल ८२ जनाको टोली सहभागी हुनेछ ।
एनआरएनएका खेलाडीले एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराते, फुल कन्ट्याक्ट कराते, लनटेनिस, पौडी, टेबल टेनिस र क्रिकेटमा प्रतिस्पर्धा गर्ने गैरआवासीय नेपाली सङ्घ–अन्तरराष्ट्रिय परिषद्का युवा उपाध्यक्ष भीमसेन थापा काजीले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटकको राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीमा विभिन्न १९ देशका खेलाडी रहेका छन् ।
यसअघि बक्सिङसहित केही थप खेलमा सहभागिता जनाउने तयारी भए पनि प्रतियोगिताको समयतालिकामा फेरबदल भएका कारण बक्सिङमा सहभागिता जनाउन नसकिएको उहाँले बताउनुभयो ।
एनआरएनएले दसौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको चौथो स्थानमा पुग्ने लक्ष्य राखेको काजीले बताउनुभयो । त्यसका लागि २० स्वर्ण, १० रजत र नौ कास्य गरी कुल ३९ पदक जित्ने लक्ष्य तय गरेको उहाँको भनाइ थियो ।
यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७६ मा एनआरएनएले एक स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेको थियो । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा १२ स्वर्ण, चार रजत र १० कास्य गरी कुल २६ पदक जितेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्