१३ मंसिर २०८३, आईतवार

राष्ट्रिय पौडी च्याम्पियनसिपमा एनआरएन टिम समग्रमा दोस्रो, महिलातर्फ च्याम्पियन

कोलोराडोखबर संवाददाता , November 29th, 2026

नेपाल । नेपालगन्जमा सम्पन्न दशौं राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा एनआरएन टिम समग्रमा दोस्रो भए पनि महिलातर्फ च्याम्पियन बन्दै बलियो उपस्थिति जनाउन सफल भएको छ ।

प्रतियोगितामा बागमति प्रदेश १६ स्वर्ण, ९ रजत र १० कास्यसहित कुल ३५ पदक जितेर समग्र च्याम्पियन बन्दा एनआरएनले १२ स्वर्ण, ४ रजत र ४ कास्यसहित कुल २० पदक हात पारेको हो ।

एनआरएनको सफलतामा लिली बोहरा र मिखा काया थापाको प्रदर्शन विशेष रह्यो । महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले २ मिनेट ३३.२० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्दै यसअघि डुअना लामाको नाममा रहेको २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान भंग गरिन् ।

लिलीले महिला ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ४३.११ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्न सफल भइन् । एनआरएनकै मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डसहित कास्य पदक जोडिन् । यसका अतिरिक्त महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डको समयसहित रजत पदक हात पारिन् ।

महिला ५० मिटर फ्रिस्टायलतर्फ भने एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डको समयसहित स्वर्ण पदक जित्दै टिमको स्वर्ण संख्या अझ उकासिन् । समग्रमा थोरै पदक संख्यामा पनि उच्च स्वर्ण अनुपात कायम राख्दै एनआरएनले महिला पौडीमा आफ्नो वर्चस्व प्रमाणित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्