१८ कार्तिक २०८३, बुधबार

एनपीएलः लुम्बिनी र विराटनगर किङ्सको जीत

कोलोराडोखबर संवाददाता , November 4th, 2026

नेपाल । गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता २०२६ मा दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा लुम्बिनीले आज पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो ।

पोखराले दिएको ९८ रनको झिनो लक्ष्य लुम्बिनीले ११।४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ४७ र निरोशन डिकवेलाले २७ रन बनाउनुभयो । यस्तै, डार्सी सर्टले १३ रन जोड्नुभयो ।

बलिङतर्फ पोखराका लागि विपिन खत्रीले एक विकेट लिनुभयो। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो । पोखराका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोड्नुभयो ।

बलिङतर्फ लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिनुभयो ।

यसअघि मंगलबारनै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले दुई रनको रोमाञ्चक जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्