नेपाल । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) शुक्रबार बस्ने भएको छ।
बिहीबार दिनभर प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज अनि न्यायाधीश हरि फुयाल र इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि न्यायिक वृत्त तरंगित भयो।
इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनले ‘ह्वाट्सएप म्यासेज’बाट गरेका कुराकानी सार्वजनिक भएका हुन्।
हरेक दिन बिहान सर्वोच्च अदालतको बैठक कक्षमा गोलाप्रथाबाट इजलास गठन गर्ने अनि मुद्दा छान्ने अभ्यास छ। त्यसक्रममा न्यायाधीशहरूबीच समयसामयिक विषयमा संक्षिप्त छलफल समेत हुन्छ। तर बिहीबार भने दुई घटनाका बारेमा न्यायाधीशहरूले मुख खोलेनन्।
अपरान्ह प्रधानन्यायाधीश डा. शर्माले आफ्नै हस्ताक्षरमा विज्ञप्ति निकालेर इनमसँग आफ्नो सम्पर्क नभएको र कुनै भेटघाट पनि नभएको जिकिर गरे।
त्यसको केहीबेरमा न्यायाधीश श्रीकान्त पौडेलले समेत आफूले मुद्दाको आदेश गर्दा बहसपैरवी र मुद्दाको विषयवस्तु हेरेको तर कुनै व्यक्तिसँग भेटघाट नगरेको जिकिरसहित विज्ञप्ति जारी गरे। त्यस्तै फुयालले पनि विज्ञप्ती जारी गरेका थिए।
प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल समेत गरेका थिए। त्यसपछि न्यायाधीशहरूलाई शुक्रबारआज बिहन फूल कोर्ट(सबै न्यायाधीश सम्मिलित बैठक) बस्ने सूचना जारी भएको छ। त्यसको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्