नेपाल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपामा उक्त शपथ दिलाएको हो ।
सभापति बाहेकको शपथ भएको हो । सभापति गगनकुमार थापाले गत बडादशैँको सप्तमीमै शपथ ग्रहण गरेका थिए । उनले पार्टीका केही आन्तरिक कामलाई निरन्तरता दिनका लागि दशैँअघि नै शपथ लिनु परेको बताएका थिए ।
शपथसँगै नयाँ कार्यसमितिले आफ्नो कार्यकालको औपचारिक शुरूआतसमेत गरेको छ । नेताहरू कार्यभार ग्रहण गरेसँगै आजै पहिलो केन्द्रीय कार्यसमिति बैठकसमेत बस्नेछ ।
सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न मंसिर महिनाभर देशव्यापी संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । थापाले वर्षौँदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदाताको घरदैलोमा पुगेर उनीहरूका गुनासा सुन्नुपर्ने बताएका हुन्। पार्टीलाई मत नदिनुको कारण खोज्दै असन्तुष्ट मतदातासँग संवाद गर्न र उनीहरूका प्रश्नको जवाफ दिन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेपछि नै २३१ सदस्यीय निर्वाचित कार्यसमितिले उक्त प्रस्ताव पारित गर्ने बुझिएको छ । कांग्रेस कार्यसमिति २९७ सदस्यीय हुनेछ । बाँकी सदस्यहरूको सभापतिले मनोनयन गर्नेछन् ।
कांग्रेसले विगतमा गरेका कामको चर्चा गरेर मात्रै नपुग्ने उल्लेख गर्दै थापाले वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने बताएका छन् । पार्टीप्रति असन्तुष्ट रहेका मतदातालाई दोष दिनुभन्दा उनीहरूका कुरा सुनेर विश्वास पुनः स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
साथै थापाले कांग्रेसभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय आवश्यक रहेको पनि बताएका छन् । नयाँ पुस्तासँग नयाँ सोच र ज्ञान तथा पुरानो पुस्तासँग अनुभव रहेको उल्लेख गर्दै उनले पार्टीका सबै संगठनात्मक संरचनामा चार पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।
आगामी स्थानीय तह निर्वाचनमा पुराना र नयाँ नेता तथा कार्यकर्तालाई समेट्नुका साथै महिलालाई पर्याप्त अवसर दिनुपर्ने उनले बताए। सबै जातजाति, भाषाभाषी र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्