१३ कार्तिक २०८३, शुक्रबार

एनपीएलः जनकपुर र कर्णाली विजयी

कोलोराडोखबर संवाददाता , October 30th, 2026

नेपाल । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। जनकपुर बोल्ट्सले भएको खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेटले हराएको हो।

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो। काठमाडौंले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

जनकपुरका लागि मोइन अलीले ५१ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा अविजित ५८ रनको पारी खेले। यस्तै, सैफ हसनले अविजित ४० रन बनाए। बलिङतर्फ काठमाडौंका लागि रिपोन मण्डलले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनायो। काठमाडौंका लागि भीम सार्कीले २९ बल खेल्ने क्रममा ४ चौकासहित सर्वाधिक ३३ रन जोडे।

यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बलिङतर्फ जनकपुरका लागि राहुल यादवले चार ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए। यस्तै, सैफ हसनले दुई तथा कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले एक एक विकेट लिए।

कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित
यता, नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गर्दै जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रनको योगदान दिए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै पवन शर्राफले ३६, अरिफुल इस्लमकले ३२, गुल्सन झाले २८ तथा दिपक डुम्रेले २० रन बनाए । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र प्रतिश जिसीले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रनको योगफल बनाएको थियो । विराटनगरका लागि लोकश बमले सर्वाधिक ८७ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गर्दै ८७ रनको योगदान गरेका हुन् ।

यसैगरी, आन्द्रे रसेलले १५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २७ रन जोडे भने एन्जेलो म्याथ्युजले २३ बलमा चार चौकाको सहायाताले ३१ रन बनाए । बासिर अहमदले सात बलमा १३ रन बनाए । शेहान जयसूर्याले ११ रनको योगदान दिए ।

बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए । मार्क वाट र नन्दन यादवले समान एकरएक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्