नेपाल । काठमाडौँ महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि कात्तिक १३ गतेदेखि काठमाडौँ फिल्म फेस्टिभल आयोजना गरिँदै छ । काठमाडौँको कला, संस्कृति तथा सम्पदाको प्रवर्धन, नेपाली चलचित्रको संरक्षण र रचनात्मक उद्योगको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
तीनदिने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती अभिनेतृ शवाना आजमी, साङ्घाई फिल्म एकेडेमी, फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डिकुन्हा सहभागी हुनुहुने छ । महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रासहित उद्घाटन कार्यक्रम आयोजना गरिने छ । महोत्सव अन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा हल र तारागाउँलगायत स्थानमा चलचित्र प्रदर्शन, मास्टर क्लास तथा प्यानल छलफल सञ्चालन हुने छन् ।
नेपाली चलचित्रको इतिहास र संरक्षणलाई प्राथमिकता दिँदै १९७० र १९८० को दशकका ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दूर’ चलचित्र विशेष प्रदर्शन गरिने छन् । त्यस्तै अन्तर्राष्ट्रिय पानोरामा खण्डमा भारत, अमेरिका, फ्रान्स, जर्मनी, अफगानिस्तान र दक्षिण कोरियालगायत देशका फिचर फिल्म तथा लघु चलचित्र प्रदर्शन गरिने छ ।
महोत्सवमा नेपाली सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्न विभिन्न प्रतियोगितासमेत सञ्चालन गरिने छन् । ‘मेरो संस्कृति, मेरो सम्पदा’ विषयमा आयोजित युथ भिडियो च्यालेन्जमा ३५ आवेदनमध्ये १२ वटा भिडियो छनोट भएका छन् । प्रतियोगिताका उत्कृष्ट तीनलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
नेपाल पानोरामा खण्डमा ७५ आवेदनमध्ये छनोट भएका १५ वटा वृत्तचित्र, कथानक, एनिमेसन तथा प्रयोगात्मक लघुचलचित्र प्रदर्शन गरिने छन् । छनोट भएका प्रत्येक चलचित्रका सर्जकलाई एक लाख रुपियाँ प्रोत्साहन रकम प्रदान गरिने जनाइएको छ । महोत्सवमा सर्वसाधारणका लागि चलचित्र प्रदर्शन निःशुल्क हुने छ । दर्शकले भने सिट सुरक्षित गर्न अग्रिम रूपमा निःशुल्क डिजिटल टिकट लिनुपर्ने छ । महोत्सवले नेपाली चलचित्रको प्रवर्धनसँगै काठमाडौँको सांस्कृतिक पहिचान, पर्यटन र रचनात्मक अर्थतन्त्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्