३ कार्तिक २०८३, मंगलवार

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ नियुक्त

कोलोराडोखबर संवाददाता , October 20th, 2026

नेपाल । बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनीत भएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’का अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले उनलाई उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उक्त पदमा मनोनीत गरिएको हो। ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ। लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष पद लामो समयदेखि रिक्त थियो। नयाँ नियुक्तिसँगै लुम्बिनी क्षेत्रको विकास, व्यवस्थापन तथा प्रशासनिक कामले गति लिने अपेक्षा गरिएको छ।

सन् १९७० मा काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। बौद्ध धर्मका गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा बौद्ध मन्त्र र धार्मिक संगीतको अध्ययन गरेकी उनी पछि गायनमार्फत अन्तर्राष्ट्रिय रूपमा परिचित भइन्। बौद्ध भजन तथा मन्त्रलाई आधुनिक संगीतको प्रस्तुतिमार्फत विश्वभर पुर्‍याएकी उनलाई ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा चिनिन्छ।

संगीतसँगै उनी शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा पनि सक्रिय छिन्। भिक्षुणीहरूको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले उनले नन्स वेलफेयर फाउन्डेसन तथा आर्य तारा स्कुल स्थापना गरेकी छन्। आमाको स्मृतिमा आरोग्य फाउन्डेसन स्थापना गरी मिर्गौलाका बिरामीलाई उपचार सेवामा सहयोग पुर्‍याउँदै आएकी छन्। बालबालिकाको स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद्‌मा परेकाहरूलाई सहयोग गर्ने अभियानमा समेत उनको संलग्नता छ।

प्रतिक्रिया दिनुहोस्