२८ आश्विन २०८३, बुधबार

पार्टीको परम्परालाई सम्मान गर्दै परिवर्तनको संकल्पसहित अघि बढ्छौंः सभापति थापा

कोलोराडोखबर संवाददाता , October 14th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको परम्परालाई सम्मान गर्दै परिवर्तनको संकल्पसहित अघि बढ्ने बताएका छन्।

कांग्रेस नेता तथा पूर्वमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ दिनको पुण्यतिथिमा पोखरामा आयोजित शोकसभामा उनले पार्टीबाट टाढिएका परिवारलाई पुनः जोडेर लैजाने बताए।

नेपाली कांग्रेस, अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको कार्यक्रममा सभापति थापाले कांग्रेससँग पुस्तौँदेखि जोडिएका परिवार र व्यक्तिको योगदानको सम्मान गर्नुपर्ने बताए।

‘बाजे कांग्रेस, बुवा कांग्रेस अनि म कांग्रेस भएँ भन्ने कुरा हल्का विषय हैन। यो हाम्रो सभ्यता जोडिएको विषय हो,’ उनले भने, ‘हामी परम्पराको सम्मान गर्छौं, परिवर्तनको संकल्प गर्छौं।’

कांग्रेस छाडेका धेरै व्यक्ति पार्टी आफूले सोचेजस्तो नभएका कारण टाढिएको उल्लेख गर्दै उनले उनीहरूलाई पुनः पार्टीमा जोड्नुपर्ने बताए। ‘उहाँहरूले कांग्रेस छोडेको हैन, कांग्रेसले उहाँहरूलाई छाडेको हो,’ उनले भने।

थापाले कांग्रेस ठूला नेताको मात्र नभई गाउँगाउँमा बस्ने र पार्टीमा योगदान दिएका सबैको साझा संस्था भएको बताए।

पार्टीसँग जोडिएका पुराना कथा, परिवार र व्यक्तिलाई खोजेर एउटै ठाउँमा जोड्नुपर्ने उनको भनाइ थियो। सबैको सम्मान भए मात्रै पार्टी, समाज र देश राम्रोसँग अघि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्