२५ आश्विन २०८३, आईतवार

बुढीगण्डकी बाढीः सुरक्षित स्थानमा जान गृहमन्त्रीको आग्रह

कोलोराडोखबर संवाददाता , October 11th, 2026

नेपाल । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बूढीगण्डकी नदीमा आएको भीषण बाढीले बगाएको छ। घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले ध्यानाकर्षण भएको जनाएका छन्।

घटनालगत्तै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई पूर्ण रूपमा परिचालन गरिएको गृहमन्त्री गुरुङले बताएका छन्। उनका अनुसार दुर्गम क्षेत्रमा द्रुत उद्धार तथा राहत सामग्री पुर्‍याउनका लागि घटनास्थलमा हेलिकप्टरसमेत परिचालन गरिसकिएको छ।

बूढीगण्डकी नदीको जलस्तर लगातार बढ्दै गएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन्।

उनले विशेष गरी सिर्दिबास, जगत्, सल्लेरी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउँदै सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरेका छन्।

गृहमन्त्री गुरुङले विपद्को यस कठिन घडीमा धैर्य कायम राख्दै आफ्नो तथा परिवारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। साथै, कुनै पनि आपत्कालीन सहायता वा जानकारीका लागि गृह मन्त्रालयको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्नसमेत उनले सर्वसाधारणसँग अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्