२१ आश्विन २०८३, बुधबार

नयाँ ग्यास सिलिन्डर बिक्री रोक्न माग

कोलोराडोखबर संवाददाता , October 7th, 2026

नेपाल । ग्यास विक्रेता महासंघले उद्योगबाट नयाँ सिलिन्डर बिक्री रोक्न माग गरेको छ । महासङ्घले मङ्गलबार नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै उद्योगले मनपरी रूपमा नयाँ सिलिन्डर बिक्री गर्दा बजारमा ग्यासको अभाव भएको भन्दै ग्यासको खुद्रा तथा नयाँ सिलिन्डर बेच्न तत्काल रोक्न माग गरेको हो ।

नेपालमा लामो समयदेखि खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेको र यसको मुख्य कारण बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु रहेको महासङ्घको बुझाइ छ ।

महासङ्घका अनुसार विभिन्न ग्यास उद्योगले मनोमानी रूपमा दुई हजार पाँच सयदेखि दुई हजार सात सय रुपियाँसम्म नयाँ सिलिन्डर बेच्ने गरेको आरोप छ ।

महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको साटो पाँच केजी, १९ केजी, ५० केजी र ४५० केजीका नयाँ सिलिन्डर बिक्री गर्ने योजना बनाइनु उपभोक्तामाथिको ठगी भएको बताउनुभयो ।

उद्योगबाट निरन्तर भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी अनिवार्य रूपमा डिलरमार्फत मात्र ग्यास बिक्रीवितरण गरिनुपर्ने उहाँको भनाइ छ । ग्यास आपूर्तिको समस्या पहिचान गरी सरोकारवालासँग परामर्श गरेर आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्