२१ आश्विन २०८३, बुधबार

रास्वपाद्वारा स्थानीय तहको निर्वाचनलक्षित ‘हामी आउँदै छौँ’ अभियान सुरु

कोलोराडोखबर संवाददाता , October 7th, 2026

नेपाल । रास्वपाले आगामी स्थानीय तहको निर्वाचनलक्षित पालिकास्तरमा ‘हामी आउँदै छौँ’ अभियान सुरु गरेको छ । मङ्गलबारदेखि सुरु भएको अभियान सातै प्रदेशका ७५३ स्थानीय तहमा सञ्चालन गरिँदै छ ।

रास्वपाले स्थानीय तहका निर्वाचनको तयारीका निम्ति यस्तो अभियान सुरु गरेको हो । औपचारिक घोषणा नभए पनि स्थानीय तहको निर्वाचन आगामी फागुनमा हुन सक्ने सम्भावना छ ।

स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे बुझाउन, नागरिकका समस्या सुन्न र पार्टी संयन्त्र परिचालनका विषयमा अभियान केन्द्रित हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

यो अभियानको अर्को उद्देश्य स्थानीय तह निर्वाचनको तयारी पनि रहेको छ । केन्द्रीय सदस्य र सांसदहरू सबै स्थानीय तहमा पुगेर सरकारले गरेका राम्रा कामको जानकारीसँगै आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका विषयमा स्थानीय पार्टी सङ्गठनसँग छलफल गरिने छ ।

‘हामी आउँदै छौँ’ अभियानमा केन्द्रीय सदस्य तथा सांसदलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाबाहेक सोही प्रदेशको अन्य जिल्लामा खटाइएको छ ।

अभियान अन्तर्गत दोलखामा खटिएका सांसद समीक्षा बाँस्कोटाले बहुआयामिक उद्देश्य बोकेर आफूहरू पालिकामा जान लागेको बताउनुभयो ।

मधेश प्रदेशको धनुषा जिल्लामा खटिएका र सांसद सरिता महतो स्थानीय तहमा कसरी राम्रो उम्मेदवार छनोट गर्न सकिन्छ भन्ने विषयमा स्थानीयका पार्टी सङ्गठनसँग छलफल हुने बताउनुहुन्छ ।

रास्वपाले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति पनि गठन गरेको छ । आगामी स्थानीय तह निर्वाचनका लागि पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरिएको छ । साथै, पार्टीले स्थानीय तहको निर्वाचनमा योग्य, सक्षम र इमानदार उम्मेदवार छनोट गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ पनि सञ्चालनमा ल्याएको छ । जसमा आकाङ्क्षीले तोकिएको प्रक्रिया र माध्यमबाट आवेदन दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्