२० आश्विन २०८३, मंगलवार

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबिच वासिङ्टनमा भेटवार्ता

कोलोराडोखबर संवाददाता , October 6th, 2026

अमेरिका । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

विश्व बैंक समूहका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गाबिच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा घनीभूत छलफल गर्नुभयो।

उक्त अवसरमा विश्व बैंक समूहका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमको प्रशंसा गर्दै उहाँले पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिनुभयो।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंक समूहका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।

भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्