नेपाल । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन मंगलबार पनि चल्ने भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार गरी दुई दिन समय तोकेको भए पनि समयमै अधिवेशन पूरा गर्न नसकेकाहरूले सोमबार पनि अधिवेशन गरे ।
सोमबार अधिवेशन गरेरसमेत नसकिएकाहरूको मंगलबार पनि अधिवेशन हुने भएको हो । निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले सम्पन्न हुन बाँकी रहेका वडाहरूमा मंगलबार अधिवेशन हुने जानकारी दिए ।
उनले प्रेस विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत सोमबार तेस्रो दिन असोज ५ गते पनि वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रुपमा भएको छ ।
यस क्रममा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, वागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलाली सहित ६३ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।
यसैगरी धनुषा क्षेत्र नं. ४, मोरङ क्षेत्र नं. ६, अछाम (३ वडा बाँकी), नवलपरासी क्षेत्र नं. २, डडेल्धुरा (४ वडा बाँकी), रुपन्देही (३ वडा बाँकी), महोत्तरी (८ वडा बाँकी), सप्तरी क्षेत्र नं. २ र ४, सिराहा, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ का वडाहरूको अधिवेशन अन्तिम चरणमा रहेका छन् ।
धादिङ, नुवाकोट तथा सोमबार सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन मंगलबार जारी रहने सदस्यसचिव कटुवालले जनाए ।
गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
पार्टीको अधिवेशनमा वडाक्षेत्र भित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन् । उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ ।
भोटेकोशीको बाढी प्रभावित जिल्लामा पनि यो चरणमा वडातहको अधिवेशन हुने छैन ।
कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् । गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्यमा निर्वाचित हुनेछन् ।
कांग्रेस विधानमा नगर(उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ । यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए ।
कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तहअनुसार फरकफरक व्यवस्था गरिएको छ । जसअनुसार गाउँपालिका वडा सभापतिले पाँच, नगर(उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात जनालाई मनोनीत गर्न पाउँछन् ।
वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान रहेको संयोजक खड्काले बताए ।
उनका अनुसार कांग्रेसको विधानअनुसार प्रत्येक महिनामा कम्तीमा एक पटक वडा कार्यसमितिको बैठक बस्नुपर्ने व्यवस्था छ । क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ ।
यस्तै वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई वडा कार्यसमितिको बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्ने हुन्छ । कांग्रेसको विधानमा एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा बस्न सक्ने प्रावधान छ ।
गाउँ–नगरउपमहानगररमहानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन् । क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्