२९ भाद्र २०८३, सोमबार

विश्वशान्तिको कामना गर्दै कोलोराडोमा किरात समाजद्वारा त्रिदिवसीय अष्टहवन सेवा आयोजित

कोलोराडोखबर संवाददाता , September 14th, 2026

-हेम गिरी (कोलोराडो, अमेरिका) । विश्वमा बढ्दै गइरहेको अशान्ति र संकटको निवारण गरी मानव एकता, आपसी सद्भाव र ब्रह्माण्डका सम्पूर्ण जीवित प्राणीहरूको कल्याणको पवित्र उद्देश्यका साथ अमेरिकाको कोलोराडोमा एक विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको छ ।

किरात संस्कृति समाज कोलोराडो (Kirat Cultural Society of Colorado) को मुख्य आयोजनामा त्रिदिवसीय अष्टहवन (येत्लाधुङ सेमी) सेवा कोलोराडोको अरोरा शहरमा भव्य रूपमा सञ्चालन भएको हो ।

सेप्टेम्बर ११ शुक्रबारदेखि सुरु भएको सो विशेष पूजा अनुष्ठान सेप्टेम्बर १३ आइतबारका दिन विशेष धार्मिक विधि विधानका साथ सफलतापूर्वक समापन हुने आयोजक समितिका उपाध्यक्ष मणि खालिङले जानकारी दिएका छन् ।

कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी किरात धर्मावलम्बीहरूको वृहत एवं उत्साहजनक उपस्थिति रहेको यस सेवामा हरेक दिनको पूजा समापनपश्चात् माङशिवाखाहुन र साम्दाङगेन वारूमसाबाहरूद्वारा मुन्धुमी ज्ञान, दर्शन र सांस्कृतिक चेतनाका विविध पक्षहरूमा प्रवचन दिइएको थियो ।

दोस्रो दिन शनिबारको कार्यक्रममा कोलोराडोमा रहेक विभन्न संघ संस्थाबाट विशिष्ट व्यक्तित्वहरूको उपस्थित रहेको थियो । अनुष्ठानमा जीबीसीसी (GBCC) का अध्यक्ष चूडा बराल, समाजसेवी केदार खतिवडा, जीबीसीसीका मिडिया संयोजक हेम गिरी, समाजसेवी धरणी ढकाल, राम पौडेल र उत्तम निरौला लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

उपस्थितिले अनुष्ठानको रौनकता र सुन्दरतालाई अझ बढाएको आयोजक समितिका अध्यक्ष सह तेयुङले बताएका छन् । कार्यक्रममा अतिथिहरूको तर्फबाट चूडा बराल र केदार खतिवडाले मन्तव्य व्यक्त गर्दै प्रवासमा यस्तो पवित्र र अर्थपूर्ण धार्मिक सेवा आयोजना गरेकोमा आयोजक समितिलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा धार्मिक तथा सामाजिक सद्भावको सुन्दर दृश्य समेत देखिएको थियो । सेवाका अवसरमा किरात समुदायका तर्फबाट परम्परागत किरात भजनहरू प्रस्तुत गरिएको थियो भने धार्मिक सहिष्णुतालाई झल्काउँदै हिन्दु भजन टोलीका तर्फबाट गरिमा पौडेलको नेतृत्वमा बालबालिकाहरूले भजन प्रस्तुत गरेका थिए ।

प्रवासमा हुर्कदै गरेका बालबालिकाहरूले आफ्नो कला र संस्कृति झल्काउने भजन प्रस्तुत गर्दा उपस्थित सम्पूर्ण भक्तजनहरू मन्त्रमुग्ध भएका थिए । चन्द्र चाम्लिङ लगायतका समाजका अगुवाहरूको विशेष चासो र सहयोग रहेको यस कार्यक्रमलाई तिलु खालिङ र लगन चाम्लिङले सञ्चालन गरेका थिए ।

प्रवासको व्यस्त जीवनमा रहेर पनि आफ्नो मौलिक भाषा, मुन्धुमी संस्कार, पहिचान र परम्परालाई जीवित राख्दै अन्य समुदायसँग भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न यो कार्यक्रम पूर्ण रूपमा सफल र एउटा महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको छ ।

यस संस्थाले कोलोराडोमा किरात संस्कृति, भाषा र परम्पराको संरक्षणका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू, महागुरु फाल्गुनन्द जयन्ती, सेवा अनुष्ठान अनि किरात राष्ट्रिय अधिवेशन जस्ता ऐतिहासिक उत्सवहरू निरन्तर आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्