२७ भाद्र २०८३, शनिबार

कोलोराडोस्थित नेपाली साँस्कृतिक केन्द्रमा इन्द्रजात्रा कार्यक्रम हुँदै

कोलोराडोखबर संवाददाता , September 12th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाल मण्डलका आदिवासी नेवा: समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महान् पर्व इन्द्रजात्रा (येँया पुन्ही) अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइने भएको छ।

कोलोराडो नेवा: खलः (Colorado Newah Khalah) को आयोजनामा आगामी सेप्टेम्बर २७ तारीक आइतबार वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा पाँचौँ संस्करणको इन्द्रजात्रा आयोजना हुन लागेको हो।

कार्यक्रममा नेवा: समुदायको मौलिक परम्पराअनुसार कुमारी जात्रा, लाखे नाच, पुलुकिसि, सांस्कृतिक झाँकी, नेवा: संगीत, सामयबजी (नेवा: परिकार) तथा मण्डला संगीत समुहको साँगितिक प्रस्तुति लगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

इन्द्रजात्रा केवल एउटा उत्सव मात्र नभई “हाम्रो इतिहास, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदा” हो । विविध संस्कृतिबीच नेपाली र नेवा: समुदायको मौलिक अस्तित्वलाई जीवन्त राख्न यस्तो कार्यक्रम महत्वपूर्ण रहेको र नेपाली तथा अमेरिकी समुदायलाई कार्यक्रममा सहभागी भई नेपालको समृद्ध नेवा: संस्कृतिको अनुभव लिन अध्यक्ष भुषणलाल श्रेष्ठले सबैलाइ अनुरोध गरेका छन्।

उनले अमेरिका जस्तो बहु सांस्कृतिक समाजमा आफ्ना मौलिक परम्परा र संस्कृतिलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न इन्द्रजात्रा जस्ता पर्वहरूको संरक्षण अपरिहार्य रहेको बताएका छन्। नेपाली साँस्कृतिक केन्द्रको प्राङ्गणमा संचालन हने कार्यक्रममा १५ वटा भन्दा बढी खाना तथा बिभिन्न संघ संस्थाका स्टलहरू रहने छन् । सहभागीहरू निशुल्क प्रवेशगरी मनोरञ्जन लिनुको साथसाथै प्रसाद स्वरूप समयबजीको स्वाद चाख्न पाइने उक्त कार्यक्रम मध्यान्ह १२ बजे देखी साँझ ५ बजेसम्म संचालन हुने छ ।

इन्द्रजात्रा नेपालको सबैभन्दा प्राचीन तथा महत्वपूर्ण जात्रामध्ये एक हो। इतिहासकारहरूका अनुसार यसको सुरुवात करिब दशौँ शताब्दीमा काठमाडौंका संस्थापक राजा गुणकामदेवको शासनकालमा भएको मानिन्छ। यही समयदेखि काठमाडौं नगरको स्थापना र नगर सभ्यताको विकाससँगै इन्द्रजात्रा मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।

इन्द्रजात्रा वर्षा र समृद्धिका देवता भगवान इन्द्र प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो। धानबाली पाक्ने समयसँग जोडिएको यस पर्वमा राम्रो वर्षा, समृद्धि, उर्वरता तथा समाजको कल्याणको कामना गरिन्छ। हिन्दू र बौद्ध दुवै परम्पराले समान श्रद्धाका साथ यो पर्व मनाउने विशेषता रहेको छ।

पौराणिक कथाअनुसार भगवान इन्द्र आफ्नी आमाको लागि पारिजात फूल टिप्न पृथ्वीमा आएका बेला काठमाडौंका बासिन्दाले उनलाई चोर ठानेर बाँधे। पछि उनको वास्तविकता थाहा पाएपछि सम्मानपूर्वक मुक्त गरियो। त्यस घटनाको स्मरणमा इन्द्रजात्रा मनाउने परम्परा बसेको मानिन्छ।

इन्द्रजात्रा केवल धार्मिक उत्सव मात्र होइन; यो नेवा: सभ्यता, कला, संगीत, नृत्य, भोजन, सहअस्तित्व र सामुदायिक एकताको प्रतीक हो। यस अवसरमा प्रस्तुत गरिने लाखे नाच असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ भने पुलुकिसि नाच भगवान इन्द्रको हात्ती ऐरावतको खोजीको कथासँग सम्बन्धित छ। त्यस्तै जीवित देवी कुमारीको रथयात्रा नेवा: समाजमा देवी शक्तिप्रतिको आस्था र सम्मानको अद्वितीय परम्परा हो।

नेवा: समुदायले सदियौँदेखि भाषा, साहित्य, मूर्तिकला, वास्तुकला, संगीत, जात्रा, गुठी प्रणाली तथा सामुदायिक जीवनशैलीमार्फत नेपालको सभ्यता निर्माणमा अतुलनीय योगदान पुर्‍याउँदै आएको छ। इन्द्रजात्रा यिनै सम्पूर्ण सांस्कृतिक मूल्य र जीवनदर्शनको उत्सव हो।

कोलोराडो नेवा: खलःले अमेरिकामा जन्मिएका तथा हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले प्रत्येक वर्ष इन्द्रजात्रा आयोजना गर्दै आएको छ। संस्थाले नेवा: संस्कृति संरक्षण, शैक्षिक कार्यक्रम, सामुदायिक एकता र नेपाल तथा विश्व समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने कार्य गर्दै आएको छ।

नेपालको हजारौँ वर्ष पुरानो सभ्यता र सांस्कृतिक धरोहरलाई अमेरिकाको भूमिमा पुनर्जीवित गर्दै कोलोराडोमा आयोजना हुन लागेको पाँचौँ इन्द्रजात्रा केवल एउटा जात्रा मात्र नभई, आफ्ना जरा, पहिचान र संस्कृतिसँग जोडिने एक साझा उत्सव बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्