१२ भाद्र २०८३, शुक्रबार

प्राधिकरण विद्युत सेवालाई नियमित गर्न सफल

कोलोराडोखबर संवाददाता , August 28th, 2026

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भएको तथा सहकर्मीहरु सम्पर्क बिहीन रहेको अवस्थापना पनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले दत्तचित्त भई क्रियाशील रहँदा विद्युत सेवालाई नियमित गर्न सफल भएको बताउनुभएको छ ।

कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बिजुली प्रणालीबाट बाहिर भए पनि प्राधिकरणले विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएको उहाँको भनाइ छ ।

बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी)मा पुगेर विद्युत् आपूर्ति व्यवस्थापनको समन्वय गर्नुभएका मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको र रसुवामा पुनःस्थापनाको प्रयास जारी रहेको जानकारी दिनुभयो ।

‘अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ। तर, ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

प्राधिकरणका अनुसार बिहीबार साँझको उच्चतम् विद्युत माग २८९१ मेगावाट रहेको छ भने बुधबार २९३९ मेगावाट रहेको थियो । जसमध्ये काठमाडौं उपत्यकाको बिहीबार ५७८ मेगावाट र बुधबार ५९० मेगावाट रहेको थियो । प्राधिकरणका अनुसार बुधबार ६२ मेगावाट र बिहीबार २ मेगावाट मात्र विद्युत आयात गरिएको थियो ।

उहाँले उद्धार तथा विद्युत् पुनःस्थापनामा खटिएका प्राधिकरणका उच्च व्यवस्थापन, कर्मचारी तथा प्राविधिक टोलीलाई धन्यवाद दिँदै प्राधिकरणले विभिन्न वैकल्पिक स्रोतबाट नुवाकोटमा करिब ७ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । चपलीबाट २, इन्द्रावतीबाट १, तादी जलविद्युत् केन्द्रबाट २ र बालाजु–त्रिशूली प्रणालीबाट थप २ मेगावाट विद्युत् पठाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्