६ भाद्र २०८३, शनिबार

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको अध्यक्षमा डा. आनन्द पौडेल चयन

कोलोराडोखबर संवाददाता , August 22nd, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्स (ASNEngr)को अध्यक्षमा डा. आनन्द पौडेल चयन भएका छन् ।

संस्थाको भर्चुअल माध्यमबाट भएको भेलाले २०२६–२०२८ कार्यकालका लागि डा.नेतृत्वमा ३७ सदस्यीय बोर्ड गठन गरेको हो ।

यसरी गठन गरिएको ३७ सदस्यीय नयाँ बोर्डले अमेरिकामा रहेका नेपाली इन्जिनियर तथा प्राविधिक पेशाकर्मीबीच व्यावसायिक सहकार्य, ज्ञान आदानप्रदान, अनुसन्धान तथा प्राविधिक विकासलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको बताइएको छ । डा. पौडेल नेतृत्वमा गठीत बोर्डमा शिक्षा, प्रविधि, अनुसन्धान, इन्जिनियरिङ तथा उद्योगका विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका नेपाली मूलका पेशाकर्मीहरू समेटिएका छन् ।

गठीत कार्यसमितिको उपाध्यक्षमा रञ्जन पोखरेल, महासचिवमा प्रतिभा फुयाँल, संयुक्त सचिवमा अमित न्यौपाने, कोषाध्यक्षमा उत्सव पोखरेल र सूचना सचिवमा रोशन भट्टराई रहेका छन्। त्यसैगरी निवर्तमान अध्यक्ष मंगल महर्जन तत्कालीन अध्यक्ष (Ex-Officio) का रूपमा कार्यसमितिमा रहनेछन्। सदस्यहरूमा समीर रावल, टीकाजित राई, सुरोज लामिछाने, नितेश पन्त र रविन ढकाल रहेका छन् ।

कार्यसमितिमा विभिन्न प्रतिष्ठित अमेरिकी संस्था तथा कम्पनीहरूमा कार्यरत इन्जिनियर, वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राविधिक विशेषज्ञहरूको सहभागिताले संस्थाको व्यावसायिक क्षमता अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

ASNEngr को नयाँ बोर्डमा अमेरिका भरिका विभिन्न राज्यबाट इन्जिनियरिङ तथा प्रविधिका विविध क्षेत्रमा कार्यरत विशेषज्ञहरू समेटिएका छन्। बोर्ड सदस्यहरूमा अब्दुल अन्सारी, बिजया पौड्याल, बिकास अधिकारी, विशाल खड्का, दीपेन्द्र पोखरेल, जगदीश राउत, जितेन्द्र खत्री, जितेन्द्र शाह, किशोर श्रेष्ठ, मनोज बानियाँ, नारायण बराल, नव पनेरु, निराजन मणि, रविन भट्टराई, राजेन्द्र श्रेष्ठ, राजेश भट्ट, राजेश काफ्ले, राजु जोशी, रिपेन्द्र अवाल, सजग पौडेल, शुभा अधिकारी, सिद्धराज जोशी, सुदीप सापकोटा, सुशील केसी र ठाकुर ढकाल रहेका छन्।

यीमध्ये धेरैजना अमेरिकी विश्वविद्यालय, सरकारी निकाय, अनुसन्धान संस्था तथा विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ कम्पनीहरूमा महत्वपूर्ण जिम्मेवारीमा कार्यरत छन्।

नयाँ नेतृत्वले नेपाली मूलका इन्जिनियर तथा प्राविधिक पेशाकर्मीको व्यावसायिक विकाससँगै युवा पुस्तालाई इन्जिनियरिङ तथा प्रविधिको क्षेत्रमा अघि बढ्न आवश्यक मार्गदर्शन, मेन्टरसिप र नेटवर्किङका अवसर उपलब्ध गराउने जनाएको छ।

अमेरिका र नेपालबीचको प्राविधिक तथा शैक्षिक सम्बन्धलाई अझ सुदृढ गर्दै ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई संस्थागत बनाउने ASNEngr को उद्देश्य रहेको छ। बहु-विषयगत नेतृत्व टोलीमार्फत शैक्षिक कार्यक्रम, व्यावसायिक नेटवर्किङ, अनुसन्धान तथा प्राविधिक सहकार्यलाई प्राथमिकता दिइनेछ।

संस्थाको १९औँ वार्षिक सम्मेलन आगामी नोभेम्बर २१, २०२६ मा ह्युस्टन, टेक्सासमा आयोजना हुने भएको छ। सम्मेलनमा इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, व्यावसायिक विकास तथा नेपाली प्राविधिक समुदायका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यस्तै, अगस्ट २३, २०२६ मा “Empowering Our Youth: Join the ASNEngr & NYA College Readiness” शीर्षकमा वेबिनार आयोजना हुँदैछ। युवाहरूलाई उच्च शिक्षा तथा व्यावसायिक भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

संस्थाले बाढी नियन्त्रण तथा भूकम्पीय पूर्वतयारी लगायतका विषयमा नीति–पत्र प्रकाशन गर्ने तथा अनुसन्धान र प्राविधिक ज्ञानलाई समुदायसम्म पुर्‍याउने कार्यक्रमलाई समेत निरन्तरता दिने जनाएको छ।

ASNEngr ले विभिन्न राज्यमा रहेका नेपाली इन्जिनियर तथा प्राविधिक पेशाकर्मीलाई जोड्न विभिन्न स्थानीय च्याप्टरमार्फत आफ्नो गतिविधि विस्तार गरिरहेको छ। हाल Greater Baltimore, Carolinas, Greater Chicago, Greater Houston, Greater New York र Greater Washington DC लगायतका च्याप्टरमार्फत व्यावसायिक तथा सामुदायिक गतिविधि सञ्चालन हुँदै आएका छन्।

नयाँ ३७ सदस्यीय बोर्डले अमेरिकामा नेपाली इन्जिनियरहरूको व्यावसायिक पहिचानलाई अझ सशक्त बनाउँदै नेपाल र अमेरिकाबीच इन्जिनियरिङ, विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

संस्थाले नयाँ नेतृत्वमार्फत “Professional Excellence, Mentorship, Networking and Knowledge Transfer” लाई केन्द्रमा राख्दै नेपाली मूलका इन्जिनियर तथा प्राविधिक समुदायलाई एकताबद्ध गर्ने अभियानलाई थप गति दिने विश्वास व्यक्त गरेको छ

प्रतिक्रिया दिनुहोस्