८ श्रावण २०८३, शुक्रबार

फन पार्क बनाउँदा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जना बिरुद्ध मुद्दा दर्ता

कोलोराडोखबर संवाददाता , July 24th, 2026

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जना र एउटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एन्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री साहसहित मधेश प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरतकुमार थापा, सोही नगरपालिकाका तत्कालीन उपप्रमुख लीलाकुमारी मुक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

त्यस्तै मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने, निर्माण कम्पनी धुलिखेल जेभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ । आयोगका अनुसार बागमती नगरपालिकामा बागमती फन पार्क एन्ड रिसोर्ट निर्माण क्रममा प्रकाशित ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई सीमित गर्ने उद्देश्यले प्रतिवादीको मिलेमतोमा सीमित सर्त राखिएको र यसबाट करोडौँ रुपियाँ अनियमितता गरिएको अनुसन्धानबाट देखिएको छ ।

प्रतिवादीको मिलेमतोमा आयोजना निर्माणका लागि छनोट भएको धुलिखेल जेभीले डिपिआर निर्माण तहदेखि नै अनियमितता गरेको र यस्तो अनियमिततामा मन्त्री साहसहितका प्रतिवादीले नजरअन्दाज गरेको आयोगको दाबी छ । यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले तत्कालीन मन्त्री साह र सचिव ठाकुरलाई ३५ करोड रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।

त्यस्तै अन्य प्रतिवादीमध्ये उपसचिव न्यौपानेलाई २० करोड रुपियाँ बिगो दाबी गरिएको छ । अन्य सबै प्रतिवादीलाई ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपियाँ बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्