नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र प्रवर्धनमा सरकारले जोड दिने बताउनुभएको छ ।
नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीबिच मङ्गलबार भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तार गर्न सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहने गरी तयारी पोसाक र कपडा विकास परिषद् (टेक्सटाइल एन्ड क्लोथिङ डेभलमेन्ट काउन्सिल) गठन गर्ने काम तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री शाहले निःशुल्क व्यापार सम्झौता ९एफटिए० र वैदेशिक लगानी (एफडिआई) ल्याउन तत्कालै काम गर्ने, अमेरिकामा तयारी पोसाकलगायतका वस्तु रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले अब त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापन गर्न सहज हुने बताउनुभयो । प्रधानमन्त्री शाहले निजी क्षेत्रका तयारी पोसाकका रुग्ण उद्योगलाई समेत तुरुन्तै सुचारु गर्न निर्देशन दिएको पाण्डेले जानकारी दिनुभयो ।
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधार गर्ने भएकाले स्वच्छ भावना राखेर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो । व्यवसायीले राखेका विषयलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको उहाँले जानकारी दिनुभयो । ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरिने समेत प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको पाण्डेले जानकारी दिनुभयो ।
यस्तै ग्रिन गार्मेन्ट भिलेजसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रममा भए पनि बजेट नआएकाले प्रधानमन्त्री शाहले तत्काल उपयुक्त ठाउँमा जग्गा खोज्न आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिनुभएको सङ्घले जनाएको छ ।
नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पु¥याउन आवश्यक रहेको भन्दै प्रधानमन्त्री साहले त्यसका लागि तयारी पोसाक उद्योगले खेपिरहेका सबैखाले समस्या समाधान गर्न लागिपर्नेमा जोड दिनुभयो । साथै तयारी पोसाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थलगायत समाग्री नेपालमै उत्पादन गर्न सक्षम हुन प्रधानमन्त्रीले व्यवसायीलाई निर्देशन दिनुभएको छ ।
नेपाली तयारी पोसाक उद्योगको पुनरुत्थान, निर्यात अभिवृद्धि तथा औद्योगिक प्रतिस्पर्धात्मकता सुदृढीकरणका लागि आवश्यक नीतिगत तथा संरचनात्मक सुधारका विषयमा विस्तृत छलफल भएको सङ्घले जनाएको छ ।
तयारी पोसाक उद्योगको उत्पादन तथा निर्यात प्रवर्धनका लागि निजी क्षेत्रसँग सहकार्य गरी मुलुकभर रहेका कच्चा पदार्थको प्रशोधन सम्बन्धमा प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको पाण्डेले जानकारी दिनुभयो । सन् २००५ मा मल्टी फाइबर एग्रिमेन्ट समाप्तिपछि तयारी पोसाक निर्यातमा उल्लेखनीय गिरावट आई अधिकांश उद्योग बन्द हुन पुगेको र ठुलो लगानी जोखिममा पर्दा ठुलो सङ्ख्यामा श्रमिकको रोजगारी गुमेको सङ्घले जनाएको छ । हाल तयारी पोसाक उद्योगको वार्षिक निर्यात करिब १० अर्बमा सीमित रहेको सङ्घले जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार काठमाडौँ उपत्यकाभित्र छरिएर रहेका तयारी पोसाक उद्योगलाई व्यवस्थित गर्न उपत्यका नजिक ग्रिन गार्मेन्ट स्थापना गर्ने सम्बन्धमा सम्भावित स्थानको पहिचान गरी प्रधानमन्त्रीले सुझाव उपलब्ध गराउन आग्रह गर्नुभएको सङ्घले जनाएको छ । हेटौँडा कपडा उद्योगको प्रभावकारी सञ्चालन, आधुनिकीकरण तथा स्वदेशी कपडा उत्पादन अभिवृद्धिका लागि लिएको नीतिप्रति सङ्घले स्वागत गरेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय निर्यात परिषद् गठन, निर्यातमा प्रदान हुँदै आएको नगद अनुदानलाई निरन्तरता, निर्यात कर्जा बिमा लागु गर्ने, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी तथा सम्मेलन केन्द्र निर्माण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशाला स्थापना, डिजिटल व्यापारलगायतका विषयमा छलफल भएको सङ्घले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्