नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले होटल व्यवसायलाई सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा सञ्चालन सम्भावनाबारे अध्ययन गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग बुधबार भएको छलफलमा उहाँले होटल व्यवसायलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन पनि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रको द्रुत गतिमा काम सुरु भइरहेकाले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अगाडि बढाइने बताउनुभयो ।
प्रधानमन्त्रीले व्यवसायीलाई कानुन पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन पनि आग्रह गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको समेत उपस्थिति रहेको उक्त छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी दिनुभयो ।
हानका अनुसार हाल वार्षिक १२ लाख पर्यटक नेपाल भित्रिएका छन् । व्यवसायीले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा वृद्धि गर्ने र युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम भएको दाबी गर्नुभएको छ ।
हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधरले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह ९डेस्टिनेसन वेडिङ० र क्रस बोर्डर पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याउँदै होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह बिजुली महसुलमा सहुलियत दिन माग गर्नुभयो ।
साना तथा मझौला होटलका लागि २५ बेडसम्मको सङ्क्षिप्त वातावरणीय मूल्याङ्कन अध्ययन अव्यावहारिक भएकाले त्यसलाई ५० बेडसम्म कायम गर्न हानले माग गरेको छ । अध्यक्ष तुलाधरले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गर्नुभयो ।
वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा प्रविधि हस्तान्तरण अन्तर्गत ट्रेडमार्क प्रयोगको रोयल्टी वा शुल्कको रकम, प्रचलित करबाहेक कुल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा नबढ्ने भन्ने व्यवस्था संशोधन गरी आपसी समझदारीमा मूल्य कायम गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
त्यस्तै डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाइदिन र आरोग्य पर्यटन प्रवर्धनका लागि फोटो, भिडियोमा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’ सहितको प्याकेज र विज्ञको व्यवस्था गर्न पनि हानले माग गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्