३१ असार २०८३, बुधबार

नक्कली शरणार्थी प्रकरणमा कसुर ठहर भएका १६ जनाको सजाय निर्धारण

कोलोराडोखबर संवाददाता , July 15th, 2026

नेपाल । काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा कसुर ठहर भएका १६ जनाको सजाय निर्धारण गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले असार २३ गते कसुर ठहर गरेकोमा मङ्गलबार सजाय निर्धारण गरेको हो । अदालतले सोमबारदेखि नै सजाय निर्धारणको प्रक्रिया सुरु गरेको थियो ।

अदालतले सरकारी लिखत कीर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा सजाय निर्धारण गरेको हो । दोषी ठहर भएकाहरूको एकीकृत सजाय निर्धारण गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार प्रतिवादीहरूलाई तोकिएको कैद र जरिबानामा फैसला कार्यान्वयनका क्रममा एकीकृततर्फको कसुरमा ठहर भए अनुसार हुने छ ।

दोषी ठहर भएकामध्ये टेकनाथ रिजाललाई एकीकृत सजायतर्फ दुई वर्ष कैद र २० हजार रुपियाँ जरिबाना गरिएको छ । यस्तै प्रतिवादी केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा र डा। इन्द्रजित राईलाई जनही चार वर्ष कैद र ४० हजार रुपियाँ जरिबानाको सजाय सुनाइएको छ । इन्द्रजित ७५ वर्ष नाघेकाले ज्येष्ठ नागरिक ऐन, २०६३ को व्यवस्था अनुसार अब सात महिना सात दिन कैद छुट पाउने पनि फैसलामा उल्लेख छ ।

यस्तै अदालतले गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई जनही चार वर्ष कैद र ४० हजार रुपियाँ जरिबानाको सजाय सुनाएको छ । शेर्पा नेपाली कांग्रेसका तर्फबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो भने रायमाझी पूर्वउपप्रधानमन्त्री हुनुहुन्छ । पाण्डे नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ । पूर्वमन्त्री बालकृष्ण खाणलाई अदालतले दुई वर्ष कैद र २० हजार रुपियाँ जरिबानाको सजाय सुनाएको छ । प्रतिवादी नरेन्द्र केसीलाई अदालतले एकीकृत कसुरतर्फ एक वर्ष कैद र १० हजार रुपियाँ जरिबाना गरेको छ ।

यस्तै अदालतले शमशेर मियाँलाई एक वर्ष कैद र १० हजार रुपियाँ जरिबानाको सजाय निर्धारण गरेको छ । हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई अदालतले एक वर्ष कैद र १० हजार रुपियाँ जरिबानाको सजाय सुनाएको छ । झालाई ठगी उद्योगमा अदालतले दोषी ठहर गरेको छ ।

शरणार्थी प्रकरणमा पूरकसमेत गरी अदालतमा मुद्दा दायरका क्रममा बनाइएका ३१ प्रतिवादीमध्ये आठ जनाको मुद्दा मुलतबीमा राख्ने आदेश भएको छ । अभियोगबाट सात जनाले सफाइ पाएका छन् । प्रतिवादीमध्ये १६ जना दोषी ठहर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्