२५ असार २०८३, बिहीबार

एमालेका सांसद राईको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन रुलिङ

कोलोराडोखबर संवाददाता , July 9th, 2026

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन रुलिङ भएको छ ।

सभाध्यक्षको आलोचना र अपहेलना गरिएको भन्दै सभामुख डोलप्रसाद अर्यालले अभिव्यक्ति रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो ।

प्रतिनिधि सभाको आकस्मिक समयमा राईले राख्नुभएको धारणा विवादमा परेपछि बैठकसमेत १५ मिनेट स्थगित भएको थियो । सभामुख अर्याल र राईबिच केही समय विवाद भएको थियो । आकस्मिक समयमा धारणा राख्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधनपछि “तपाईं कान सुन्नुहुन्छ कि हुन्न” भनेर प्रश्न गर्नुभएको थियो ।

राईको प्रश्नलगत्तै सभामुख अर्यालले अभिव्यक्तिले सभामुख र सभाको अपहेलना भएको भन्दै बोल्न समय दिनुभएन । बोल्ने अनुमति नपाएपछि राई रोकिनुभयो । राईलाई बोल्न समय नदिएपछि एमालेका अन्य सांसदले उठेर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्