२५ असार २०८३, बिहीबार

निर्वाचन आयोगमा प्रस्तावित तीन पदाधिकारीको संसदीय सुनुवाइ प्रक्रिया सुरु

कोलोराडोखबर संवाददाता , July 9th, 2026

नेपाल । निर्वाचन आयोगमा प्रस्तावित तीन पदाधिकारीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संवैधानिक परिषद्ले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र प्रस्तावित आयुक्तद्वय डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा पठाएको छ । समितिले उजुरी आह्वान प्रक्रियाका लागि बिहीबार बैठक बोलाएको छ ।

सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलले सुनुवाइका लागि पत्र प्राप्त भई प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको बताउनुभयो । उक्त बैठकले उजुरी आह्वानलगायतका प्रक्रिया प्रारम्भ गर्ने पनि उहाँले बताउनुभयो । संवैधानिक परिषद्ले असार १९ गते निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा तीन जनाको नाम सिफारिस गरेको थियो । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्की सर्वोच्च अदालतमा बहालवाला रजिस्ट्रार हुनुहुन्छ । निर्वाचन आयुक्तमा सिफारिस सुब्बा नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी र वाग्ले सरकारी वकिलको उपन्यायाधिवक्ताबाट अवकाश पाउनुभएको हो ।

उजुरीको प्रक्रिया पूरा भएपछि समितिले प्रस्तावित पदाधिकारीको सुनुवाइ गर्ने छ । सामान्यतया उजुरीका लागि १० दिनको समय दिने प्रचलन–व्यवस्था छ । सोपछि सुनुवाइको प्रक्रिया अघि बढाइने छ । समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा प्रस्तावित पदाधिकारी स्वीकृत भएको मानिने छ । समितिले प्रक्रिया सुरु भएको ४५ दिनभित्र स्वीकृत वा अस्वीकृतसम्बन्धी निर्णय नगरेमा पनि प्रस्तावित पदाधिकारीलाई नियुक्त गर्न बाधा नपर्ने व्यवस्था छ ।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवकाश पाएपछि निर्वाचन आयोग प्रमुख आयुक्तविहीन छ । आयोगमा अब दुई आयुक्त मात्र हुनुहुन्छ । सिफारिस अनुसार नियुक्त भएमा आयोगमा पदाधिकारीले पूर्णता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्