नेपाल । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जुनमा हवाईमार्गबाट गत वर्षको जुनको तुलनामा १९.५ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्षको सोही अवधिमा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । बोर्डका अनुसार सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ विदेशी पर्यटकको आगमन भएको थियो ।
बोर्डका वरिष्ठ अधिकृत सन्तोषविक्रम थापाका अनुसार पछिल्ला महिनामा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो ।
आगामी पर्यटन सिजनलाई लक्ष्य गरेर भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेकाले असोजसम्म नेपाल भित्रिने विदेशी पर्यटकको आवागमनमा थप सुधार हुँदै जाने उहाँले बताउनुभयो ।
बोर्डका अनुसार यस वर्षको जुनमा सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन कुल आगमनको ५२.८ प्रतिशत रहेको छ । जसमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्; जुन कुल आगमनको १७.६८ प्रतिशत हो । जसमा चीनबाट आठ हजार ८७५ पर्यटक आगमन भएको छ भने जापानबाट दुई हजार ४९७, दक्षिण कोरियाबाट एक हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।
त्यस्तै गरी युरोपेली मुलुकमध्ये बेलायतबाट युरोपेली मुलुकमध्ये बेलायतबाट दुई हजार पाँच सय, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक आएका छन् । अमेरिकाबाट अमेरिकाबाट ११ हजार ८३६ हजार, क्यानडाबाट एक हजार ११ तथा ब्राजिलबाट १४० र मेक्सिकोबाट १३२ पर्यटक आएका छन् ।
त्यस्तै ओसियानिया क्षेत्रबाट जुनमा तीन हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढिरहेको छ । यस क्षेत्रमा अस्ट्रेलियाबाट दुई हजार ८९६ तथा न्युजिल्यान्डबाट १९४ पर्यटक नेपाल भित्रिएका छन् । जुनमा अफ्रिकाबाट २९२ तथा मध्यपूर्वबाट ६७४ जना पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।
यसअघि सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४१४, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४ र मे महिनामा एक लाख दुई हजार ६२६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्