नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच रहेका सीमालगायत विषयको समाधान वार्ता र कूटनीतिक संयन्त्रमार्फत खोजिने बताएका छन्।
भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतसँगको सिमानालगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिए।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्धमा सोधिएको जिज्ञासामा परराष्ट्रमन्त्री खनालले उक्त भूमि नेपालको रहिआएको ऐतिहासिक अडान दोहोर्याउँदै त्यसबारेमा भारत र चीनलाई कूटनीतिक नोटमार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गरे।
भारतसँगको सिमानाका विषयमा समाधानका लागि सरकारले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्तामार्फत समाधान खोजिने बताए। नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) प्रतिवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री खनालले उक्त प्रतिवेदन दुई देशका प्रधानमन्त्रीहरूको सहमतिमा गठन गरिएको समूहले तयार गरेको उल्लेख गर्दै त्यो प्रतिवेदन केबल दुई प्रधानमन्त्रीलाई मात्रै बुझाउन सकिने स्पष्ट पारे।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भारतको तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए। परराष्ट्रमन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेको जानकारी गराए।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनाल र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्