२४ जेष्ठ २०८३, आईतवार

कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्यः सभामुख अर्याल

कोलोराडोखबर संवाददाता , June 7th, 2026

नेपाल । प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताउनुभएको छ।

टिकापुरमा शनिबारदेखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले कानुन बनेपछि मात्र प्रभावित पक्षले जानकारी पाउने अभ्यास परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कृषक, व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलगायत सम्बन्धित पक्षसँग पूर्वपरामर्श गरेर मात्र प्रभावकारी कानुन निर्माण सम्भव हुने उहाँको भनाइ थियो।

सभामुख अर्यालले ई–पार्लियामेन्ट तथा प्रविधिमैत्री संसदीय अभ्यासको विषयमा चर्चा गर्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको प्रयोगलाई राज्य सञ्चालनसँग जोड्नुपर्ने धारणा राख्नुभयो। पछिल्लो समय युवापुस्ताले उठाएका सुशासन, जवाफदेहिता र सुधारका मागलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँले बताउनुभयो।

उहाँले सम्मेलनमा सहभागी सातै प्रदेशका सभामुख तथा संघीय संसदका प्रतिनिधिहरूले सुदूरपश्चिमलाई ठोस सन्देश र परिणाम दिने गरी काम गर्नुपर्ने बताउनुभयो। साथै, आगामी दिनमा प्रदेशस्तरीय सम्मेलन आयोजना गर्दा सम्बन्धित प्रदेश सभाको अवलोकन तथा सहभागितालाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो।

“संघीय कानुन निर्माणका क्रममा प्रदेश र स्थानीय तहका कानुनसँग समन्वय हुने तथा नागरिकमैत्री कानुन निर्माणलाई प्राथमिकता दिइनेछ। जनताको आवश्यकता, सुशासन र परिणाममुखी कार्यसम्पादनलाई केन्द्रमा राखेर सबै तहका जनप्रतिनिधिबीच सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ,” उहाँले भन्नुभयो।

समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले विगतका सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा आवश्यक रहेको बताउनुभयो। धेरै निर्णय गर्नेभन्दा थोरै तर कार्यान्वयनयोग्य निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

“अर्को सम्मेलनमा पुग्दा नयाँ निर्णय थप्ने मात्र होइन, अघिल्ला निर्णय कति कार्यान्वयन भए भन्ने समीक्षा गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो।

सभामुख अर्यालले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र संवादलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। तीन तहका सरकारबीच प्रतिस्पर्धाभन्दा साझेदारीको भावना आवश्यक रहेको उहाँको भनाइ थियो।

सम्बोधनका क्रममा उहाँले सुदूरपश्चिमसँग आफ्नो राजनीतिक यात्राको प्रारम्भिक सम्बन्ध पनि स्मरण गर्नुभयो। २०७९ सालमा राजनीतिमा प्रवेश गरेपछि पहिलो राजनीतिक सम्बोधन कञ्चनपुरबाट गरेको उल्लेख गर्दै उहाँले त्यतिबेला “सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउनुपर्छ” भन्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो।

टिकापुरको ऐतिहासिक तथा सामाजिक महत्व उल्लेख गर्दै उहाँले सम्मेलनले यस क्षेत्रका विकास र सम्भावनासँग सम्बन्धित मुद्दामा समेत ध्यान दिनुपर्ने बताउनुभयो। सम्मेलनका क्रममा आफूले शुक्लाफाँटा क्षेत्रको पूर्वाधार तथा टिस्यु कल्चर केन्द्रको निरीक्षण गरेको जानकारी दिँदै पूर्वाधार निर्माणपछि त्यसको प्रभावकारी सञ्चालन र उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहयोग, सहकार्य तथा सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सम्मेलनको आयोजना अन्तर व्यवस्थापिका मञ्चले गरेको हो। सम्मेलनको व्यवस्थापन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गरेको छ।

कार्यक्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका माननीय उपसभामुख रुबी कुमारी तथा राष्ट्रिय सभाकी माननीय उपाध्यक्ष लीला कुमारी भण्डारीको उपस्थिति रहेको थियो। सम्मेलनमा सातै प्रदेशका सभामुख, उपसभामुख तथा संसदीय पदाधिकारीहरूको सहभागिता रहेको छ।

सम्मेलनअन्तर्गत “कानुन निर्माण प्रक्रिया स् संघ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारी” विषयमा संविधानसभा सदस्य खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी, “आदर्श बजेट निर्माण प्रक्रिया र अभ्यास” विषयमा पूर्वसचिव डा। सुरेन्द्र अर्याल तथा “संघ र प्रदेश सभाबाट हुने संसदीय अनुगमन कार्यमा एकरूपता” विषयमा संघीय संसद सचिवालयका सचिव डा। रोजनाथ पाण्डेले प्रस्तुति दिनुभएको थियो।

संघीय संसद सचिवालयका आईटी विज्ञ विनीत सत्यालले डिजिटल पार्लियामेन्टसम्बन्धी प्रस्तुति दिनुभएको थियो।

सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद र प्रदेश सभाबाट हालसम्म भएका कार्यप्रगति, प्रदेश सभा सञ्चालनका अभ्यास, पूर्व सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्था, आगामी कार्यदिशा तथा सम्भावित निर्णयका विषयमा सामूहिक छलफल भएको थियो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाकी माननीय उपसभामुख कोइलीदेवी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहाल र सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्