नेपाल । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नुपरेको महासंघले जनाएको छ।
गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाव दिनेजस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले महासंघलाई जानकारी गराएका उल्लेख गरेको छ ।
साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न महासंघले आज विज्ञप्ति जारी गरी माग गरेको छ । यस्तै पत्रकारसँगसम्बन्धित संघसंस्थाले पनि उक्त घटनाको विरोध गरेको छ।
पूर्वगृहमन्त्री सुधन गुरुङको नाम लिएर श्रेष्ठसँग भएको अडियो कुराकानी बाहिरिएको छ। श्रेष्ठले त्यो अडियो कुराकारी आफ्नो भएको तर आफूले कुनै प्रस्ताव स्वीकार नगरेको बताएका छन्। उनले १० लाख अफर गरेको पनि बताएका छन्।
त्यसपछि उनको अफिसमा एक महिलाले गिफ्ट ल्याएको भिडियोसमेत बाहिरिएको छ। त्यो गिफ्ट ल्याए पनि आफूले स्वीकार नगरेको श्रेष्ठले बताएका छन्। सार्वजनिक भएको भाइरल भिडियोमा उक्त गिफ्ट एक महिलाबाट अर्का व्यक्तिले लिएको देखिन्छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्