२ बैशाख २०८३, बुधबार

विष्णु विवेकको पुस्तक ‘घाटगाउँ’ अमेरिकाको कोलोराडोमा पनि विमोचन

कोलोराडोखबर संवाददाता , April 15th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । लेखक तथा पत्रकार विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’ अमेरिकाको कोलोराडोमा पनि विमोचन गरिएको छ ।

शनिबार रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) को आयोजनामा अमेरिकाको कोलोराडोमा पत्रकार तथा लेखक विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन गरिएको हो ।

कोलोराडोस्थित नेपाली साँस्कृतिक केन्द्र घरमा नयाँ वर्ष विशेष कार्यक्रममा रक्की माउन्टेन संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख अतिथी विनोद त्रिपाठी, विशेष अतिथीहरु प्राडा विजय शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सभापति तथा साहित्यकार पदम विश्वकर्मा, रक्की माउन्टेनका पूर्वअध्यक्ष टीका पौडेल, निवर्तमान अध्यक्ष अर्जुन बगाले, अध्यक्ष आकृति राई र लेखक विष्णु विवेकले ‘घाटगाउँ’ पूस्तकको संयूक्त रूपमा विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै लेखक, साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले अमेरिका आएको दुई वर्षमै पुस्तक लेखेर लेखकको परिचय बनाएको भन्दै लेखकको प्रशंसा गरेका थिए । अमेरिकाका कोलोराडो, न्युर्योक, लास भेगास लगायत सहर घुमेपछि सामाजिक सञ्जालमा मिठो भाषामा आफ्नो अनुभव लेख्ने लेखकको लेखनबाट आफू प्रभावित भएको भन्दै उनले लेखकलाई नेपाली डायस्पोराको साहित्यिक संसारमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

सुर्खेतको विकट गाउँबाट संघर्ष गर्दै काठमाडौँमा पत्रकारिता गरेर अमेरिका आएपछि लेखनमा सक्रिय भएर पुस्तक प्रकाशन गर्नु महत्वपूर्ण उपलब्धी भएको भन्दै विश्वकर्माले निरन्तर लेखनका लागि शुभकामना दिएका थिए । पुस्तक बिक्रीबाट आएको रकमले आफ्नै गाउँको स्कूलमा पूस्तकालय बनाउने सकारात्मक सोच र काम झन् महत्वपूर्ण भएको भन्दै पुस्तक किनेर पढिदिनुका साथै अभियानमा साथ दिन पनि उनले आग्रह गरे ।

‘विष्णुजीले अमेरिका आएदेखि आफ्ना भोगाई, अनुभव र घुमघामका विषयहरु सामाजिक सञ्जालमा लेख्नुहुन्थ्यो’ विमोचन कार्यक्रममा साहित्यकार विश्वकर्माले लेखकका बारेमा भने, ‘पछिल्लो समय उहाँले न्युयोर्क घुमेपछि असाध्यै मिठो भाषामा लेख्नुभयो । हामीमध्ये धेरैले न्युयोर्क घुम्यौँ । तर उहाँले जसरी लेख्नुहुन्छ, त्यसले धेरैको मन छुने बनाएको छ, आफैँ घुमेको जस्तो महसुस हुन्छ । अरुलाई प्रभावित पार्ने लेखनले निरन्तरता पाओस् भन्ने काम गर्छु । यो पुस्तक बिक्रीबाट उहाँले आफ्नै गाउँमा पुस्तकालय बनाउँछु भन्नुभएको छ । यति राम्रो कामका लागि पनि यो पुस्तक किनेर पढेर साथ दिनुहुन म सबैलाई अनुरोध गर्दछु ।’

यस्तै कार्यक्रममा रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले अमेरिका आएको छोटो समयमै पुस्तक प्रकाशन गरेर लेखकको परिचय बनाएकोमा लेखकलाई बधाई ज्ञापन गरेका थिए । अमेरिका आएको सुरुवाती समयदेखि आफुले देखे, भोगेको विषयलाई संस्मरणका रुपमा पूस्तकमा उतार्न सह्रानीय काम भन्दै उनले सुरुवाती दिनदेखि एक अभिभावकका रुपमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । कोलोराडोमा आएको छोटो समयमै सामाजिक रुपमा सक्रिय हुँदै पुस्तकसमेत प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गर्दा कोलोराडोमा रहेका आफू लगायत धेरै नेपालीलाई गौरव लागेकोसमेत उनले बताए ।

यसैगरी रक्की माउन्टेन फेण्ड्स अफ नेपालकी अध्यक्ष आकृति राईले ‘घाटगाउँ’ पुस्तक पढ्र्द गर्दा आफू धेरै ठाउँमा भावुक बनेको बताइन् । लेखकले आफू जन्मेको गाउँदेखि सदरमुकाम, काठमाडौँ हुँदै अमेरिकासम्म आइपुग्दा भोगेका अनेक कठिनाई, संघर्ष पुस्तकमा पढ्दै जाँदा आफ्नै जीवनयात्रा ‘रिक्याप’ हुने भन्दै उनले पुस्तकले धेरैपटक भावुक बनाउने टिप्पणी गरिन् । गाउँको संघर्षदेखि अमेरिकाको व्यस्त दैनिकीसम्मको भोगाईलाई पुस्तकमा उतार्नु आफैमा कठिन र महत्वपूर्ण काम भएको भन्दै उनले लेखकीय यात्राको निरन्तरताका लागि शुभकामसमेत दिइन् । आफूले नेतृत्व गरेको संस्थाको युवा संयोजकको जिम्मेवारीमा रहेर लेखक तथा पत्रकारको पुस्तकका रुपमा ‘घाटगाउँ’ विमोचन गर्दा रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल संस्थाका लागि गौरवको विषय भएकोसमेत अध्यक्ष राईले बताइन् ।

‘यो पुस्तक पढ्दै गर्दा म धेरै ठाउँमा भावुक भएकी छु । पुस्तकका पाना पाना पढ्दा आफैँ आफ्नो गाउँदेखि अमेरिका आउँदासम्मको यात्रा सम्झेकी छु । आमाको दुःख, माया र प्रेरणालाई मिठो भाषामा पुस्तकमा समेट्नु सबैका लागि यो पुस्तक प्रेरणादायी हुन्छ भन्ने मेरो विश्वास छ । संस्थाको युवा संयोजकको जिम्मेवारीमा रहेकै बेला यो पुस्तक हामीले विमोचन गर्न पाउनु पनि रक्की माउन्टेनका लागि गौरवको विषय हो’ अध्यक्ष राईले विमोचन कार्यक्रममा भनिन् ।

पुस्तक विमोचनपश्चात कार्यक्रम सञ्चालनका क्रममा लेखक विष्णु विवेकले अमेरिकामा लेखकको परिचय बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका थिए । पुस्तक बिक्रीबाट गाउँको स्कूलमा पुस्तकालय बनाउने अभियान सफल पार्न भन्दै पुस्तक किनेर पढिदिन पनि उनले आग्रह गरेका थिए । सुर्खेतको घाटगाउँमा जन्मेर सदरमुकाम वीरेन्द्रनगरबाट रेडियो पत्रकारिता थालेका पत्रकार विष्णु विवेकले काठमाडौँमा दश वर्षसम्म मूलधारको पत्रकारिता गरेका थिए ।

नवज्योति एफएम, क्यापिटल एफएम, अन्नपूर्ण एफएम हुँदै उज्यालो रेडियो नेटवर्कसम्म काम गरेका उनी कोभिड महामारीपछि इकागज र खबरहब डटकम लगायत अनलाइनमा पनि कार्यरत थिए । रेडियो तथा अनलाइन पत्रकारितापछि नेपालको पर्यटन प्रवर्द्धनमा होमिएका विष्णु विवेक नेपाल टूरिजम फेस्टिभल, ताप्लेजुङ–दार्चुला बाइक टूर, गोल्डेन ट्रयाङ्गल बाइक टूर लगायत कार्यक्रमका संस्थापकसमेत हुन् । स्कुले जीवन संघर्षदेखि रेडियो पत्रकारिता, अनलाइन पत्रकारिता, पर्यटन अभियान्ताका रुपमा काम गर्दाका अनुभवका साथै अमेरिका पुगेपछिको भोगाई पनि उनले पुस्तकमा समेटेका छन् ।

हाल कोलोराडोमा रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल संस्थाको युवा संयोजकको जिम्मेवारीमा रहेका पत्रकार तथा लेखक विष्णु विवेक एनआरएनए एनसीसी अमेरिकाको सञ्चार समिति सदस्य पनि हुन् । उनले हालै एनआरएनए अमेरिकाको प्रस्तुतीका रुपमा नेपाली नागरिकता प्राप्तिको प्रक्रिया, गैरआवासीय नेपालीलाई मतदानको अधिकार तथा नेपालमा गैरआवासीय नेपालीको लगानी सुनिश्चित वातावरण बनाउन सरकारसँग माग गर्दै ‘डायस्पोरा डिस्कोर्स सिरिज’ सञ्चालन गरिरहेका छन् ।

सन् २०२४ मा अमेरिका आएका पत्रकार तथा लेखक विष्णु विवेकले सन् २०२६ को सुरुवातमै ‘घाटगाउँ’ पूस्तक पहिलोपटक आफ्नै गाउँ र काठमाडौँमा विमोचन गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय तथा डायस्पोरा विमोचनका रुपमा ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन गरिएको हो । पुस्तक बिक्रीबाट आएको सबै रकमले गाउँकै स्कूलमा यसै वर्ष पुस्तकालय निर्माण गरिने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्