-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोस्थित नेपाली समुदायको साझा संस्था नेपाली घरले आगामी मार्च २८ तारिख शनिबारको दिनदाता सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली घर समुदायकै भर भन्ने अभियान लिएर अगाडी बढिरहेको संस्थाको दीर्घकालीन विकास तथा विविध गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण दाताहरूप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको कुरा नेपाली घरका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले जानकारी दिएका छन् ।
नेपाली घरले विगतदेखि नै समुदायमा सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस यात्रामा दाताहरूको अमूल्य योगदान रहेको संस्थाले उल्लेख गरेको छ । यही योगदानप्रति सम्मान व्यक्त गर्दै, आगामी दिनहरूमा अझ सशक्त सहकार्यको आधार निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नेपाली घरको यो यात्रामा, यहाँसम्म आइपुग्न, थुप्रै दाताहरूको निःस्वार्थ साथ, विश्वास र योगदानले महत्वपूर्ण भूमिका खेलेको छ । यही अमूल्य योगदानप्रति हार्दिक कृतज्ञता प्रकट गर्न, कार्यक्रममा सहभागी प्रत्येक दातालाई विषेश उपहार प्रदान गरी सम्मान गरिनेछ जसले केवल सम्झना मात्र नभई, नेपाली घर संगको सम्बन्धको प्रतीकको रूपमा सदैव रहिरहने बिस्वाश नेपाली घरले लिएको चौलागाईंले बताएका छन् ।

यस विशेष साँझलाई अझ आत्मीय र स्मरणीय बनाउन सहभागी सम्पूर्ण महानुभावहरूका लागि विविध सांस्कृतिक प्रस्तुतीहरूको साथमा रात्रि भोजको समेत व्यवस्था गरिएको नेपाली घरले जनाएको छ ।
प्रवासमा रहेर आफ्नो भाषा संस्कृतिको संरक्षण तथा पहिचान गराउने उद्देश्यले अहोरात्र परिश्रम गरि बचाएको रकम दानगर्नु हुने माहान दाताहरूलाइ सम्मान र हौसला प्रदानगर्ने कार्यक्रममा सहभागी हुनपाउनु आफैंमा गौरवको कुरा हो । त्यसैले उक्त कार्यक्रममा सहभागी दाताहरूलाइ हौसला प्रदानगरी कार्यक्रमलाइ सफल बनाउन सहयोग गरिदिनहुन नेपाली घरले कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुध्दिजिवी, दाता, तथा नेपालीभाषी बुबाआमा दाजुभाइ,दिदीबिदहिनी सबैलाइ हार्दिक अनुरोध गरेको छ ।
संस्थाले यसै अवसरमा सम्पूर्ण दाताहरूको बिचमा आफ्नो १३औं बार्षिक साधारण सभासमेत सम्पन्न गर्ने कार्यक्रम बनाएकोले नेपाली घरका साधारण, सदस्य, आजीवन सदस्य, ट्रष्टि मेम्बर सबैलाई उपस्थित भइदिनुहुन समेत अनुरोध गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्