कोलोराडो । गैरआवासीय नेपाली संघ (NRNA) अमेरिका, कोलोराडो च्याप्टरको एकता तथा पद हस्तान्तरणपछि आयोजित संयुक्त प्रत्यक्ष (In-person) बैठक जनवरी ११ तारिखका दिन Westminster स्थित नेपाली घरमा सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकमा कोलोराडो च्याप्टरको सांगठनिक सुदृढीकरण, भावी कार्यदिशा, समुदायसँगको सहकार्य तथा आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।
उक्त बैठकले कोलोराडो च्याप्टरका तीन जना पूर्व अध्यक्षहरूलाई सल्लाहकारका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ। मनोनित सल्लाहकारहरूमा च्याप्टरका संस्थापक अध्यक्ष वासुदेव खनाल, पूर्वअध्यक्ष रामचन्द्र पन्त तथा निवर्तमान अध्यक्ष प्रकाश पौडेल रहनु भएको छ । उहाँहरूको अनुभव, योगदान तथा मार्गदर्शनले च्याप्टरको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
च्याप्टरका अध्यक्षद्वय निमा शेर्पा र चन्द्र गुरुङले विगतमा नेतृत्व सम्हाल्नु भएका पाँचै जना पूर्व अध्यक्षहरूलाई सल्लाहकारको भूमिकामा रहन अनुरोध गर्नु भएको थियो । उक्त अनुरोधअनुसार तीन जना पूर्व अध्यक्षज्यूले मात्रा सल्लाहकारको जिम्मेवारी स्वीकार गर्नु भएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो ।

त्यसैगरी, कोलोराडो च्याप्टरको सूचना प्रवाह, सार्वजनिक सम्बन्ध तथा सञ्चार प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ मिडिया संयोजक पदमा रसोज श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
बैठकले आगामी दिनहरूमा कोलोराडो च्याप्टरले स्थानीय सामाजिक संघ संस्थाहरू तथा समग्र नेपाली समुदायसँग सहकार्य, समन्वय र आपसी समझदारीलाई थप मजबुत बनाउँदै अघि बढ्ने निर्णय गरेको छ । यस प्रयोजनका लागि अध्यक्षद्वय निमा शेर्पा र चन्द्र गुरुङले सम्पर्क, सरसल्लाह तथा समन्वय कायम राख्ने निर्णय गरिएको छ ।
यसै बैठकमा संगठनात्मक गतिविधि, सदस्य सहभागिता अभिवृद्धि, भावी कार्यक्रमहरू तथा समुदाय हितसँग सम्बन्धित अन्य विभिन्न समसामयिक र महत्वपूर्ण विषयहरूमा समेत गहन छलफल भई आवश्यक निर्णयहरू गरिएको छ ।
गैरआवासीय नेपाली संघ (NRNA) अमेरिका, कोलोराडो च्याप्टर नेपाली समुदायको हित, एकता तथा संस्थागत विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्