२९ पुष २०८२, मंगलवार

ग्लोबल भुटानीस कम्युनिटी कोलोराडोको वार्षिक समीक्षा तथा स्पोन्सर प्रशंसा कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , January 12th, 2026

-डेनभर, कोलोराडो । कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको अग्रणी तथा सक्रिय संस्था ग्लोबल भुटानीस कम्युनिटी कोलोराडो (जीबीसीसी) ले आफ्नो Annual Review & Sponsors Appreciation Event अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न गरेको छ ।

यो कार्यक्रमले सन् २०२५ का उपलब्धिहरूलाई गर्वका साथ समीक्षा गर्दै आगामी तीन वर्ष (२०२६–२०२८) को लागि स्पष्ट, महत्वाकांक्षी र योजनाबद्ध रोडम्याप प्रस्तुत गरेको छ । संस्थाका सचिव मणि खालिंग राईले संचालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चूड़ामणि बरालले गरेका थिए भने उपाध्यक्ष भीम राई ‘क्षितिज’ ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा, चुनौती र सफलताको भावुक समीक्षा गरिएको थियो ।

संस्थाका चार प्रमुख संयोजकहरूले सन् २०२५ का उपलब्धिहरूको विस्तृत प्रस्तुति दिनुका साथै आगामी वर्षहरूका लागि प्रेरणादायी योजनाहरू सार्वजानिक गरेका थिए, जसमा संस्थाका खेलकुद संयोजक ओम ढुङ्गेलले सन् २०२५ मा संस्थाले खेलकुद क्षेत्रमा गरेको कार्यक्रमको विषयमा जानकारी गराएका थिए भने सन् २०२६ मा बालबालिका, युवा तथा वयस्क स्तरमा भलिबल र सकर टिमहरू निर्माण गरी कोलोराडोस्तरमा प्रतिस्पर्धा गर्ने लक्ष्य रहेको अनि इन्डोर स्पोर्ट्स टुर्नामेन्ट (Under 15 बालक तथा बालिका), युथ आउटडोर सकर अनि पुरुष तथा महिला भलिबल टुर्नामेन्ट आयोजना गर्ने योजना रहेको बताए ।

त्यसैगरी संस्कृति संयोजक विर्ख गुरुङले नेपाली गीत-गजल, वाद्ययन्त्र अभ्यास र सांस्कृतिक शोकेसलाई थप जीवन्त बनाउने योजना साथै गीत गजल प्रवर्द्धन र प्रतियोगितामा सहभागी हुन चाहनेहरुलाई प्रवर्द्धन लगायत योजनाहरूले समुदायका नयाँ पुस्तालाई आफ्नो संस्कृति, संगीत र परम्परासँग जोड्न मद्दत गर्ने अपेक्षा गरेको जानकारी गराए ।

शिक्षा तथा युवा विकास संयोजक दुर्गा निरौलाले Civil Air Patrol (Valkyrie Cadet Squadron) मार्फत युवा क्याडेटहरूको संख्या वृद्धि, महिला मेन्टरशिप कार्यक्रम पुनः सञ्चालन र हाईस्कूलपछिको करियर मार्गदर्शन कार्यक्रमको योजना रहेको प्रस्तुती प्रस्तुत गरेका थिए । साथै हाईस्कूलपछिका विकल्पहरूबारे जानकारी विषयमा गोष्ठी संचालन गरेर कलेज आवेदन, छात्रवृत्ति, करियर मार्गदर्शन, गेस्ट स्पिकरहरू, प्यानल छलफल तथा Q&A गरेर विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गरी उनीहरूको भविष्य उज्ज्वल बनाउने लक्ष्य राखिएको जानकारी गराए ।

त्यसैगरी प्रेस तथा मिडिया संयोजक हेम गिरीले समुदायको सकारात्मक छवि निर्माण तथा निष्पक्ष समाचार प्रवाहलाई निरन्तरता गर्दै समाजमा रहेका विभिन्न कला अनि हरेक विचारहरुलाई प्रस्तुत गर्नको लागि वर्ष २०२६ मा पोड्कष्ट कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराए ।

कार्यक्रममा कोषाध्यक्ष पूर्ण शिवकोटीले सन् २०२५ को पूर्ण आर्थिक पारदर्शी विवरण (संकलन, खर्च र सन्तुलन) प्रस्तुत गरे भने वर्ष २०२६ को लागि सहयोगको लागि अपिल गरे । यो विशेष अवसरमा संस्थाले आफ्ना प्रायोजकहरू तथा दाताहरू प्रति गहिरो कृतज्ञता व्यक्त गरेको छ । प्रायोजकहरूको निरन्तर सहयोग, विश्वास र उदारताले नै जीबीसीसीका यावत् कार्यक्रमहरू सफल भएको कुरा संस्थाका सबै वक्ताहरूले एक स्वरमा जोड दिए ।

कार्यक्रममा समुदायका प्रतिष्ठित व्यक्तित्व तथा अगुवाहरूले पनि आफ्ना प्रेरणादायी मन्तव्य राखेका थिए । जसमध्ये: संस्थका संस्थापक सदस्य तथा सल्लाहकार केदार खतिवडा, किराँत कल्चरल सोसाइटी अफ कोलोराडोका अध्यक्ष सह सुब्बा, समुदायका अगुवा श्याम खनाल, हबिल रसाइली, गरिमा अधिकारी अनि युवा पुस्ताका प्रतिनिधि गगन धौराली र कपिल नेपालले संस्थाको वर्तमान प्रगति र भावी योजनाप्रति उच्च प्रशंसा गर्दै थप सहयोग र सहभागिताको अपिल गरेका थिए । कार्यक्रममा जीबीसीसीका संस्थापक सदस्यहरू, सल्लाहकारहरू, दाताहरू तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो ।

यो कार्यक्रम केवल वार्षिक समीक्षा मात्र नभई समुदायको एकता, संस्कृति संरक्षण, शिक्षा, खेलकुद र युवा सशक्तीकरणप्रतिको अटल प्रतिबद्धताको जीवन्त प्रदर्शन थियो । जीबीसीसीले आगामी वर्षहरूमा अझ बढी प्रभावकारी, समावेशी र प्रेरणादायी कार्यक्रमहरू सञ्चालन गरी नेपाली भाषी भुटानी समुदायको पहिचानलाई विश्वव्यापी स्तरमा चिनाउने दृढ संकल्प व्यक्त गरेको संस्थाका अध्यक्ष चूड़ामणि बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्