२६ पुष २०८२, शनिबार

नेपाल र अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

कोलोराडोखबर संवाददाता , January 9th, 2026

नेपाल । नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथामका लागि नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौताअन्तर्गत नेपाल सरकारद्वारा जारी भई म्याद ननाघेको निर्यात प्रमाणपत्रबाहेक नेपालबाट निश्चित पुरातात्त्विक तथा मानवजातीय सामग्री अमेरिकामा आयात गर्न अमेरिकी कानुनबमोजिम प्रतिबन्ध लगाइने व्यवस्था गरिएको छ ।

सम्झौताले पुरापाषाण युगको करिब इसापूर्व ३२,००० देखि इस्वी संवत् १७७० सम्मका पुरातात्त्विक सामग्री तथा १३औँ शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्रीलाई समेटेको छ । यसमा धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथा आनुष्ठानिक वस्तु र अमेरिकी सरकारले आगामी दिनमा प्रकाशित गर्ने निर्दिष्ट सूचीमा उल्लिखित पाण्डुलिपिहरू समेत समावेश छन् ।

यस सम्झौताले कलाकृतिको चोरीडकैती र अवैध व्यापारविरुद्ध द्विपक्षीय सहकार्यलाई सुदृढ बनाउँदै नेपालका सांस्कृतिक निधिहरू भावी पुस्ताका लागि सुरक्षित रहने सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ । अवैध बजारमा अमूल्य सम्पदा पुग्न नदिई चोरीडकैतीका प्रेरक तत्त्व न्यूनीकरण गर्ने र सांस्कृतिक सम्पत्तिको जिम्मेवारीपूर्ण रखवारी प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्