२६ पुष २०८२, शनिबार

अब नेपालीहरुले पनि अमेरिकाको भिसामा ५ देखि १५ हजार डलर धरौटी राख्नु पर्ने !

कोलोराडोखबर संवाददाता , January 8th, 2026

अमेरिका । नेपालीहरूले अब अमेरिकाको बिजनेस (बी१) र भिजिट (बी२) भिसा प्राप्त गर्न धरौटी राख्नुपर्ने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले आउँदो माघ ७ जनवरी २१ देखि यस्तो नियम लागू हुने जनाएको छ । जसअनुसार यी दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ६ महिनासम्म बस्न पाउनेछन् ।

भिसा प्राप्त गर्ने व्यक्तिलाई भिसा अन्तर्वार्ता क्रममा दूतावासका अधिकारीले ५ हजार डलर (७ लाख २२ हजार रूपैयाँ), १० हजार डलर (१४ लाख ४४ हजार रूपैयाँ) वा १५ हजार डलर (२१ लाख ६६ हजार रूपैयाँ) मध्ये कुनै एउटा रकम धरौटी राख्न लगाउनेछन् । यस्तो रकम बुझाउँदा अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइसिई) को फाराम भरेर बुझाउनु पर्नेछ । रकम भिसा प्राप्त गर्ने व्यक्तिले नै तिर्नुपर्नेछ । अन्य तेस्रो पक्षको वेवसाइटबाट रकम तिर्न पाउने छैन ।

कुनै व्यक्ति भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिका बसेको अवस्थामा यस्तो धरौटीबाट रकम काटिनेछ ।

साथै अमेरिका जाने नेपालीले अब निश्चित विमानस्थलबाट मात्र प्रवेश पाउनेछन् । साथै उनीहरुले तोकिएका विमानस्थलबाट मात्र देश छाड्नु पर्नेछ । अमेरिकाले प्रवेश गर्न र बाहिरिन तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल तोकेको छ ।

बोस्टनको बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टनको डुलिस इन्टरनेसनल एयरपोर्टबाट मात्र अब यस्ता भिसा प्राप्त गर्ने व्यक्ति अमेरिका प्रवेश गर्न पाउनेछन् ।

अन्य विमानस्थलबाट यात्रा गर्ने व्यक्तिलाई अमेरिकाले नियन्त्रणमा लिन सक्ने उल्लेख गरेको छ । अमेरिका प्रवेश गर्दा नै यस्ता भिसा प्राप्त गर्ने व्यक्तिको फर्कने दिन रेकर्ड गराउनु पर्नेछ । अमेरिका छाडेपछि भने धरौटी रकम फिर्ता हुनेछ ।

साथै कोही व्यक्तिले भिसा प्राप्त गरे पनि यात्रा नगरेको अवस्थामा पैसा फिर्ता पाउनेछ । त्यसैगरी अमेरिकाको भिसाका लागि निवेदन दिएको र एयरपोर्टबाट फर्काइएको अवस्थामा पनि पैसा फिर्ता पाउने छन् ।

तर धरौटी तिर्दैमा भिसा प्राप्त गर्ने सुनिश्चतता भने हुने छैन । अमेरिकी काउन्सिलर अफिसरको निर्देशनबिना कसैले धरौटी बुझाए त्यस्तो धरौटी फिर्ता हुने छैन । त्यस्तै बिजनेस वा ट्राभल भिसामा गएका व्यक्तिले अन्य प्रकारको भिसा आवेदन दिए वा शरणार्थी बन्न गए धरौटी जफत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्